arrow

महासेठले झापामा हाले १२ अर्बका योजना, बजेटको साताअघि ओलीले शिलान्यास गरेकालाई १० अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
kp-oli-raghubir-mahaseth.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री एवं एमालेका सचिव रघुवीर महासेठले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा मात्रै झण्डै १२ अर्ब रुपैयाँ बराबरको योजना हालेका छन् ।

विभिन्न शीर्षकहरुमा गरी उनले झापाकेन्द्रित योजना पारेका हुन् । यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको बजेट छुट्याइएको छ । त्यसमध्ये झापाकेन्द्रित आयोजनामा मात्रै झण्डै ८ प्रतिशत बजेट विनियोजन भएको हो  ।

यस वर्ष सबैभन्दा धेरै रकमको योजना काँकडभिट्टा इनरुवा सडकको पूर्वी र पश्चिमी खण्डको लागि मात्रै छुट्याइएको छ । काँकडभिट्टा इनरुवा, पथलैया नारायणघाट सडक परियोजना अन्तर्गत पर्ने यो सडकका लागि मात्रै यस वर्ष ९ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो सडको शिलान्यास ओलीले गत जेठ ९ गते गरेका थिए ।  

त्यस्तै मदन भण्डारी राजमार्गको झापा खण्डका लागि पनि यो वर्ष ९१ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यालयले बाहुनडाँगीदेखि चतरासम्म कार्यक्षेत्र पर्ने झापा योजना कार्यालयका लागि सो बजेट छुट्याइएको हो । यसको अधिकांश योजना झापामै पर्छ ।  

रेलको योजनासमेत यो वर्ष झापाको लागि राखिएको छ । यस अन्तर्गत झापा योजना कार्यालयका लागि डेढ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

उता राजमार्ग स्तरोन्नति कार्यक्रम ओलीले महासेठ मार्फत् दमक नगरपालिकामा चक्रपथ निर्माण गर्ने योजना पारेका छन् । 

यसका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै विर्तामोडदेखि मेचीपुलसम्मको सडकका लागि ५ करोड २५ लाख र मेची राजमार्गको चारआली चिहानेडाँडाको लागि डेढ करोड बजेट छुट्याइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ