arrow

प्रचण्ड गर्मीका कारण हजारभन्दा बढी हजयात्रीले गुमाए ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
makka-saudi.jpg

काठमाडौँ । यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए । 

हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले बताएका छन् । उनले मृत्यु हुने कूल छ सय ५८ जनामा छ सय ३० दर्ता नगरिएका तीर्थयात्री रहेको बताए ।

हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो । 

राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ ।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महङ्गो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन् । 

साउदीका अधिकारीहरूका अनुसार यस महिनाको सुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार सुरु भएको मुख्य संस्कारमा बिना दर्ता भाग लिएको देखिन्छ । 

अधिकारीहरूले आधिकारिक अनुमति बिना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष गर्मीको जोखिम बढी भएको बताएका छन् ।

इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीहरूको मृत्यु भएको बताएका छन् ।
 
इजिप्ट बाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छ । 

मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीहरूको खोजी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ