arrow

बुटवलका प्रदर्शनकारीेले के भने सिमाङ्कन हेरफेर बारे?

काँग्रेस र माओवादीका विद्रोही नेताहरुको दमदार मन्तव्य

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Butwal.jpeg
काठमाडौं । प्रदेश नं ५ लाई विखण्डन गर्न खोजेको विरोधमा पश्चिम नेपालको बुटवलको जनजीवन तेस्रो दिन पनि प्रदर्शनमा नै वित्यो । विभिन्न आसपासका जिल्लाहरुबाट आएका प्रतिनिधिहरुलाई बुटवलको ट्राफिक चोकमा भेला भएका सत्ता तथा प्रतिपक्षी पार्टीका नेताहरुले सम्बोधन गरे । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले एउटै स्वरमा ५ नं प्रदेश टुक्रयाउन नदिने घोषणा पनि गरे । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए। वुटवलमा पहाडी भेगबाट झरेका राजनीतिक कार्यकर्ताहरुदेखि स्थानिय सर्वसाधारणको जनसागर उर्लिएको थियो। 
 
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले राष्ट्र बिखण्डन गर्ने खालको संशोधन प्रस्ताव ल्याएको आरोप लगाउँदै यसलाई कुनैपनि हालतमा पारित हुन नदिने स्पष्ट पारे । सिङ्गो तराईलाई अलग प्रदेश बनाएर छुट्टै राज्य घोषणा गर्ने र भविष्यमा अलग राज्यको घोषणा गर्ने षडयन्त्रको बिजारोपण स्वरुप संशोधन प्रस्ताव आएको बताउँदै गौतमले संसदमा प्रस्ताव असफल पार्न एमाले र यसक्षेत्रका सबै नागरिक लडिरहने बताए ।
 
सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले विधेयक दर्ता गराउने प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच नम्बर प्रदेशमा आएर जनताको अगाडि उभिन चुनौती दिए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पृथ्वीनारायण शाहले जोगाएको देशलाई कसैले पनि बिखण्डन गराउन नसक्ने बताउँदै अंग्रेजलाई भगाएको भूमिलाई कसैले विखण्डन गर्न खोजे ऊ आफैं बिखण्डित हुने बताए । नेता भण्डारी पार्टी नेतृत्वले सहमति जनाएको संसोधनको प्रस्तावको विपक्षमा उभिएका छन्। उनले अत्यन्तै दमदार भाषणगरि सभामा उपस्थितको मन जीतेका थिए।
 
कार्यक्रममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कसकालागि प्रदेश टुक्राउन खोजिएको भन्दै आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्रश्न गरे । आफू पार्टीभन्दा पनि जनताको पक्षमा हिँडेको भन्दै रायमाझीले जनता रहेमा मात्र संसद, जनप्रतिनिधि, मन्त्री वा सरकार रहने बताए। रायमाझी पनि पार्टी नेतृत्वले सहमति जनाएको संसोधनको प्रस्तावको विपक्षमा उभिएका छन्।  
 
 
आन्दोलनमा विभिन्न पेशागत व्यवसाय संघसंस्थाका प्रतिनिधिहरु, निजी क्षेत्रका उद्योग व्यवसायीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । हामीले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकारीहरुलाई प्रदेश टुक्रिँदा किन र कति घाटा हुन्छ ? भनेर प्रश्न गरेका थियौं । 
 
अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो आन्दोलन हिममाल र पहाडबीचको दूरी टाढा बनाउने खेल रहेको भन्दै यसको विरोधमा लाग्नु परेको बताएका छन् । यो कुनैपनि राष्ट्रवादी सरकारले गर्नै नसक्ने कुरा भन्दै एउटै शीरलाई बीचमा काटेर शरीर चल्न नसक्ने धारणा व्यक्त गरे । उनले आर्थिक रुपमा पनि प्रदेश छुट्टाउँदा मुलुक र विशेषगरी अहिलेका ४ र ५ प्रदेशलाई घाटाा लाग्ने भएकोले विरोध गरेकोे उनले स्पष्ट पारे । 
 
उता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले यो रोटीबेटीको सम्बन्ध रहेको र एक विना अर्काै बाँच्नै नसक्ने तराई र पहाडलाई छुट्टाएर सरकारले के गर्न खोजेको भन्दै प्रतिप्रश्न गरे । उनले स्थानीयको सहमति विनाको काम सफल हुँदैन भनेर प्रमाणित गराउन पनि यो आन्दोलन गरिएको उनले जानकारी दिए ।  
 
त्यस्तै, गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दूर्गा प्रसाद पाण्डेले हरेक दृष्टिले तराई छुटएको पहाड बलियो हुन नसक्ने भन्दै आफूहरुको आन्दोलन, आफ्नो समेद्धिको लागि नै रहेको स्पष्ट पारे । पहाड र तराई टुट्टिएर न त पहाडलाई फाइदा छ न त तराईलाई नै । तराईमा उब्जनी भएको कुरा पहाडमा नलैजाने र पहाडले तराईको सामान प्रयोग नगर्ने हो भने आफैँ स्वायत्त पाराले बाँच्न कोही पनि नसक्ने धारणा व्यक्त गरे । उनले भने हामीसँग भएको पहाडको चट्टानमा धान रोपेर खाने ? हामीकहाँ आएको पर्यटनले हामी धनी बनेर हामी अर्काे प्रदेशबाट खाद्यान्न किन्नै पर्ने ? अहिलेको प्रदेश कसका लागि साघुरो भयो ? 
 
यसरी विरोधमा उपस्थितहरुको एउटै राय के थियो भने ५ नं प्रदेश टुक्र्याउँदा न त टुक्रिएर जानेलाई फाईदा छ न त त्यही बस्नेलाई नै । त्यसैले यो आन्दोलन दुबैपक्षको हितमा रहेको उनीहरुको बुझाई  छ । यही बुझाईलाई सावित गर्न विभिन्न पेशागत संगठनका प्रतिनिधिहरु रुपन्देही बाँके लगायतबाट पनि बुटवल आएका थिए । उनीहरुले पनि आफूलाई पहाडबाट छुट्टाईएको सिमाङ्कन मान्य नहुने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ