- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँग इरानको तेहरानमा भएको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए ।
उनले भने, “नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ । यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो । हाम्रो मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा गरिएको छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए । उनले रुसी सेनामा क्रियाशील नेपालीको वास्तविक संख्या र अवस्थाबारे बुझ्न विभिन्न माध्यमबाट पहल भइरहेको जानकारी दिए ।
“रुसले नेपालीलाई युक्रेनसँगको युद्धमा समेत पठाएको जानकारी आएपछि हामी त्यहाँको सरकारसँग लगातार वार्ता गरिरहेका छौँ । यससन्दर्भमा पहिले पनि त्यहाँका विदेशमन्त्री र दुवै देशका राजदूतावासमार्फत पहल गरिएको छ । पहिलो कुरा त रुसी सेनामा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ त्यसको जानकारी चाहियो भनेका छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।
रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि उनले जानकारी दिए ।
उनका अनुसार रुस र युक्रेन युद्धमा लड्दा हाल छजना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारी आएको र युद्धबन्दीअन्तर्गत नेपालीलाई प्राथमिकतामा राखेर फिर्ता गर्न भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले सिद्धान्ततः रुस सरकारले सेनामा रहेका नेपाली फिर्ता गर्न सहमति जनाएको तर त्यसको मोडालिटीबारे अझै काम बाँकी रहेको जानकारी दिए ।