arrow

जनता सडकमा, निर्वाचनको उर्दी लगाउँदै प्रधानमन्त्री

शहीद परिवारलाई माथिल्लो तामाकोशीमा शेयर दिने आश्वासन

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
PM-ko-nya-boli.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव दर्तापछि देश निर्वाचन तिर उन्मुख भएको भन्दै निर्वाचनको वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताएका छन् ।

शनिबार साँझ शहीद परिवार समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । अब सरकारको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ । निर्वाचनको वातावरण बन्न नदिन चलखेल पनि सुरु भएको छ, त्यसैले निर्वाचनको वातावरणका लागि सबैले सतर्क र संयमित भएर पहल गर्न आवश्यक छ ।’ यद्यपि, नागरिक संविधान संशोधन प्रस्ताव विरुद्ध  सडकमा उत्रिएका छन् ।

भेटमा प्रधानमन्त्रीले शहीद परिवारलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न सरकार लागिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘मैले अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थ मन्त्रालयका सहसचिवलाई बोलाएर कुरा गरेको छु । माथिल्लो तामाकोशीमा सरकारको ११ अर्ब शेयर छ, त्यही रकमलाई शहीद परिवारको शेयरमा बदल्न आवश्यक कानुनी प्रक्रिया थाल्न भनेको छु । छिटै त्यो रकम शेयरमा बदलिन्छ ।’

प्रधानमन्त्री दाहालले शहीद परिवारको दबाबले माओवादी आन्दोलन एकतावद्ध हुन सक्ने भन्दै साझा मुद्धामा मिलेर जाने वातावरण निर्माणका लागि सकारात्मक दबाब दिन आग्रह गरे ।

माओवादी नेतृ जयपुरी घर्ती, पूर्वमन्त्री गणेशमान पुनको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शहीद परिवारले राज्यबाट पाउनुपर्ने राहत रकमलाई माथिल्लो तामाकोशीमा शेयरको व्यवस्था गर्न, शहीदहरुको नामावली राजपत्रमा प्रकाशित गरी अभिलेख राख्न, शहीदका छोरा छोरीले २५ वर्षसम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर्न, शहीदहरुको जीवनी प्रकाशित गर्न, शहीदहरुका नाममा स्मारक, प्रतिक्षालय, गाउँपालिका, नगरपालिकाहरुको नामकरण गर्न, शहीद परिवारको आपतकालीन व्यवस्थाका लागि अक्षयकोषको व्यवस्था गर्न, सत्य निरुपण र बेपत्ता आयोगको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ