arrow

कृषि उत्पादनलाई पर्यटनसँग जोडौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
surendra-rajpanday-cm-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले पोखरा-२३ को मार्गी फेवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले रैथाने बालीको संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको पनि आयआर्जन बढाउन सकिने धारणा राखे ।

सिँचाइको सुविधा भएका फाँटसमेत बाँझै हुँदा विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध गराउँदै प्रोत्साहित गर्नुपर्ने बताए । खेतीयोग्य भूमि टुक्राउने कार्यलाई रोक्दै त्यस्ता जग्गामा धानलगायतका बाली लगाउन जरुरी रहेको उनको भनाइ थियो ।

त्यसअवसरमा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढो जातको धान र घ्यू उपहार दिएका थिए ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोड्न सक्यौँ भने किसानमा समृद्धि आउने धारणा व्यक्त गरे । उनले कृषिमा आधुनिकीकरण जरुरी भएको समेत उल्लेख गरे ।

गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको उल्लेख गर्दै खोला संरक्षण जरुरी भएको बताए । वर्षामा धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताए ।

महोत्सवमा स्थानीय, आन्तरिक तथा विदेशी पर्यटक हिलोमा रमाएका थिए भने सोही अवसरमा हिलेदौड, भलिबल, हिलोमा माछा छोप्ने, डोरी तान्नेलगायतका कार्यक्रम आयोजना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ