arrow
ADVERTISEMENT

राजनीतिक उतारचढावः देउवा र ओलीबीचको छलफलले प्रचण्डलाई तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
prachanda-deuba-oli-81-2-5.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सम्बन्धी विधेयक संसदमा अड्किएको लामो समय भएको छ । तीन दलका शीर्ष नेताहरुबीच कुरा नमिल्दा सो विधेयक संसदबाट पास हुन सकेको छैन ।

संसदीय समितिबाट विधेयक संसदमा पुग्ने बेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भइरहेको सत्ता समीकरण फेरेर एमालेसँग टाँसिन पुग्दा तत्कालीन कानूनमन्त्री धनराज गुरुङ र सांसद रमेश लेखकले समितिमै अड्काइदिए । २०८० फागुन २१ गते एमाले र रास्वपासहितको सत्ता समीकरणमा नेकपा एस असन्तुष्ट रहेको छ । 

यही क्रममा गत बिहीबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँग भेटघाट गरेका थिए । भेटको क्रममा एमालेसँगको सहकार्यले आफूलाई निकै असहज बनाइरहेको दुःखेसो गरेका थिए । 

त्यही राति  प्रधानमन्त्री प्रचण्ड बूढानीलकण्ठस्थित शेरबहादुर देउवा निवास पुगेका थिए । करिब डेढघण्टा देउवा निवासमा बिताएका प्रचण्डले उनीसँग के के कुराकानी गरेका थिए भन्ने बाहिर नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको सुइँको पाए । 

ओलीले सुइँको पाएपछि प्रचण्डले शुक्रबार हतारमा तीन नेताहरुको बैठक बालुवाटारमा बोलाए । ‘ओलीले शंका नगरुन्, आफू टीआरसी सम्बन्धी विधेयकबारे छलफल गर्न गएको हो भन्ने बनाउने प्रचण्डले बालुवाटारमा बैठक बोलाएका रहेछन् । तर शनिवार ओली–देउवाको भेट भएपछि सत्ता समीकरणको काँध फेर्ने विषयमा छलफल भएको हो भन्ने खुल्यो’, बालकोट स्रोतले भन्यो ।

शनिबार दिउँसो देउवा पत्नीसहित ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओली र देउवाबीच लामो कुराकानी भएको थियो । टीआरसी विधेयक मात्र होइन अहिलेको निर्वाचन प्रणाली र त्यसबाट मुलुकले भोग्नु परेको सास्तीको बारेमा पनि कुराकानी भएको बताइएको छ । 

साथै माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि आफ्नो दलको जादूमयी नम्बर र संख्या भएकाले सत्ताबाट आफूलाई हटाउन कठिन रहेको अभिव्यक्तिबारे पनि छलफल भएको बुझिएको छ ।

‘प्रचण्डजीले ठूला दललाई आफूले कसरी घुमाइरहेको छु भन्ने भानमा सत्तामा बसेका छन् भन्ने बारेमा केही समय छलफल भएको छ’, बालकोट स्रोतले भन्यो ।

शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा पुष्पलाल जन्मजयन्ती समारोहको कार्यक्रममा ओलीलाई निम्ता भए पनि माधव नेपाल पनि आउने भएपछि ओलीलाई हल्का बिसञ्चो भएको खबर पठाइयो । र, ओली त्यस कार्यक्रममा सहभागी भएनन् । 

कार्यक्रममा सहभागी हुन शक्रबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ आइपुग्दा मुलुकका दुई ठूला दलका नेताहरु आपसमा छलफल गरिरहेका थिए । 

प्रधानमन्त्री प्रचण्डसहित ओली, माधवकुमार नेपाल, सीपी गजुरेल, बामदेव गौतम, देवप्रसाद गुरुङ, सीपी मैनाली, नेत्रविक्रम चन्द विप्लव लगायतलाई त्यस कार्यक्रममा निम्तो भए पनि वाममन्थी एकताको मियो मानिएको एमालेकै सहभागिता नभएपछि शनिबारको त्यस कार्यक्रम खल्लो मानिएको थियो । 

कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको कार्यक्रममा प्रचण्ड–माधव लगायतका नेताहरू कम्युनिस्ट एकताको ‘अपरिहार्यता’बारे चर्चा गरिरहँदा ओली भने विपक्षी गठबन्धनका सभापतिसँग भेटमा मुलुकको भावी रणनीतिबारे चर्चा गरिरहेका थिए ।  
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ