काठमाडौं । दशौं चरणको २२ दिन लामो आमरण अनसन बसेपछि सरकारले आफ्ना मागको सुनुवाइ गरेसंगै शिक्षण अस्पताल महाराजगञ्जका प्राडा गोविन्द केसीले आइतबार बिहान आमरण अनसन तोड्दै छन् ।
शिक्षण अस्पतालमै आमरण अनसनरत उनले शनिबार राति सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीचको वार्ता सफल भएपछि आइतबारमात्र आमरण अनसन तोड्ने बताएका थिए ।
शनिबार दिनभरि भएको वार्तामा स्वास्थ्य मन्त्री गगन थापा पनि सहभागी भएका थिए । थापाले डा केसीको मागमा लामो समयदेखि ऐक्यवद्धता जनाउँदै आएका छन् ।
आइतबार बिहान ९ः३० बजे आमरण अनसन तोड्ने काम सुरु हुने शिक्षण अस्पताल महाराजगञ्जका रेडिडेन्ट डक्कर्स एसोसिएनका अध्यक्ष एवं केसी पक्षका वार्ता टोलीका सदस्य डा लिजन महर्जनले हाम्राकुरालाई जानकारी दिए ।
सो अवसरमा शिक्षा र स्वास्थ्य सचिव पनि सहभागी हुने उनले बताए ।
डा महर्जनले आमरण अनसन तोडेसंगै डा केसीलाई तत्काल आइसीयुमा सिफ्ट गरिने जनाएका छन् । केसीको स्वास्थ्य गम्भीर छ ।
महर्जनले भने, ‘डा केसी खुसी त हुनुहुन्छ तर लामो समयपछि संवोधन हुनु भने दुःखको कुरा हो ।’
महर्जनले केसीको स्वास्थ्य गम्भीर भएकाले उहाँ धेरै बोल्नु हुनेछैन । पत्रकार सम्मेलनमा थोरै सम्वोधनपछि उहाँलाई आइसीयुमा लैजाने बताए ।