काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता चक्र बास्तोला बिगत चार बर्षदेखि अचेत अबस्थामा छन् । भैसेपाटीस्थित आफ्नै घरमा उपचार गराइरहेका नेता बास्तोलासंग उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भेट गरी बास्तोलाको स्वास्थ्य अबस्थाबारे जानकारी लिए । माओवादीसंगको १२ बुँदे सहमतिका क्रममा महत्वपूर्ण भूमिका निर्बाह गरेका नेता बाँस्तोला शारीरिक रुपमा असक्त हुँदा पार्टी र सिंगो मुलुकका लागि नोक्सानी भएको गृहमन्त्री निधिले बताए ।
परिवार सदस्यहरुका अनुसार नेता बास्तोलालाई पाइपबाट खाना खुवाउने व्यबस्था मिलाइएको छ । झोलिलो पदार्थका साथै नरम खानेकुरा खुवाइएको छ । घरमै आएर नर्सहरुले नियमित रुपमा बास्तोलाको हेरबिचार गर्ने व्यबस्था मिलाइएको छ । नर्सहरुले हरेक दिन फिजियोथेरापी गराउने गरेका छन् । फिजियोथेरापीपछि उनलाई हरेक बिहान ९ बजे ह्वीलचेयरमा राखेर घर बाहिर डुलाउने गरिएको छ । ह्वीलचेयरमा बास्तोला आरामसंग बस्न सक्छन् ।
चार बर्षअघि बिराटनगरमा आयोजित एक कार्यक्रममा अचेत भएपछि भारतमा उनको उपचार भएको थियो । त्यसपछि नेपालमा ल्याएर नर्भिक अस्पतालमा केही समय बास्तोलालाई राखिएको थियो भने पछिल्लो समय घरमै राखेर उपचारको व्यबस्था मिलाइएको छ ।