arrow

भारतले भन्यो –संविधान संशोधन विधेयक महत्वपूर्ण र दुवै देशको हितमा

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
INDIA-SPEEK-anepal.jpeg

काठमाडौं । काँग्रेस माओवादीको गठबन्धन सरकारले संसदमा दर्ता गराएको  संविधान संशोधन विधेयकलाई भारतले महत्वपूर्ण भन्दै यो कदम दुवै देशको हितमा रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता विकास स्वरुपले संविधान संशोधन विधेयकबारे संचारकर्मीले सोधेको प्रश्नको जवाफमा भनेका छन्, ‘हाम्रो निरन्तर पोजिसन के रहँदै आएको छ भने नेपालको शान्ति, स्थायित्व तथा प्रगति नेपाल र भारत दुवैका हितमा छ । त्यसैले संवाद र संवैधानिक प्रक्रियामार्फत समाजका हरेक तप्काका आकांक्षाहरुलाई सम्बोधन गर्न नेपाल सरकारले लिएका पहलकदमीको हामीले समर्थन गरिरहेका छौं  ।’ विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले दिएको जवाफ भारतीय विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत राखिएको छ ।
 
जवाफको अगाडि भनिएको छ, ‘अहिले भइरहेका प्रयासको हिस्साको रुपमा नेपालको संसदमा नोभेम्बर २९ मा दर्ता गरिएको संविधान संशोधन विधेयक एक महत्वपूर्ण कदम हो । विश्वास यो छ कि सबैपक्षबीच भइरेका वार्ता सफलतापूर्वक टुंगिने छन् ।’

यस्तै, प्रवक्ता स्वरुपको जवाफमा ‘नेपालको एक नजिकको छिमेकी भएको नाताले नेपालको शान्ति, स्थायित्व र आर्थिक विकासलाई गति दिन भारत नेपाल सरकारको प्राथमिकताअनुसार सबैखाले सहयोग र समर्थन गर्न तयार रहेको  उल्लेख छ ।

सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको ६ दिन पछि भारतीय विदेशमन्त्रालयले आधिकारीक रुपमै यसरी प्रतिक्रिया जनाएको हो ।

मधेशी मोर्चासहितको संघीय गठबन्धनले संशोधन प्रस्तावलाई अस्वीकार गरिरहेका बेला भारतले सरकारको कदमलाई महत्वपूर्ण भनेको छ । यस्तै, भारतले पछिल्लो समय लगातार मधेशवादी दलहरुको मागलाई सम्बोधन गरेर चुनावमा जानको लागि आग्रह गरिरहेको छ ।

शनिबार मात्रै नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेशी मोर्चाका शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर संविधान संशोधनमा सघाउन भनि दबाब दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ