सप्तरी । जिल्ला प्रशासन कार्यालयको स्टोरमा बम राख्ने दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीपुर–५ का नथुनी यादव र राजविराज–५ का भवानीप्रसाद यादव रहेका सप्तरी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिवेश लोहनीले हाम्राकुरालाई जानकारी दिए ।
उनीहरुलाई शनिबार मलेठ गाविस–५ बाट पक्राउ गरिएको प्रहरी प्रमुख लोहनीले बताए । पक्राउ परेकालाई थप अनुसन्धानका लागि म्याद थप गरिसकिएको लोहनीले जानकारी गराए ।
१२ मंसिरका दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम भेटिएको थियो । नेपाली सेनाको कृष्णदल गण भलुवाहीको टोलीले बम निष्कृय पारेको थियो । बम राखिएको खैरो रंगको झोलामा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहको पर्चा फेला परेको र बम निष्कृय पार्ने क्रममा नेपाल प्रहरी र सेनाका पाँच जना सुरक्षाकर्मी घाइते भएका बताइएको छ ।
बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई संगठिन अपराध ऐन तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।