arrow

यात्रा फाइनलको

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, क्यानाडा पराजित

अल्भारेज र मेस्सीले गरे गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
copa-america-arg-can-sf.jpg

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडामाथि २–० को जित हासिल गरेको हो । 

अर्जेन्टिनाका लागि युलियन अल्भारेज र लियोनल मेस्सीले १–१ गोल गरे । अल्भारेजले २३ औँ तथा मेस्सीले ५१ औँ मिनेटमा गोल गरेका थिए । 

क्यानाडा अन्तिम समयमा आक्रामक खेलेको भए पनि गोल गर्न चुकेको थियो । क्यानाडाका चार खेलाडीले पहेँलो कार्ड खाएका थिए । 

पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानाडाले क्वार्टरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । 

मेस्सीको कीर्तिमान
क्यानाडाविरुद्ध गोल गर्दै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको नाम लेखाउन सफल भएका हुन् । उनले १०९ गोल गरेका छन् । उनीभन्दा अगाडि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले १३० गोल गरेका छन् । 

तेस्रो स्थानमा इरानका अलि दाई रहेका छन् । दाईले १०८ गोल गरेका छन् । 

क्यानाडा समूह चरणमा अर्जेन्टिनासँग एकै समूहमा रहेको थियो । समूह चरणको खेलमा क्यानाडा अर्जेन्टिनासँग २–० गोल अन्तरले नै पराजित भएको थियो ।

त्यस्तै अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अर्जेन्टिनाले उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग आगामी आइतबार बिहान ५ः४५ बजे खेल्नेछ । 

दोस्रो सेमिफाइनलमा उरुग्वे र कोलम्बियाबीचको खेल बिहीबार बिहान नेपाली समयअनुसार पौने ६ बजे शुरु हुनेछ । 

अर्जेन्टिनाले ३७ औँ पटक कोपा अमेरिकाको सेमिफाइनल खेलेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक कोपाको उपाधि जितेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ