arrow

कांग्रेस कसको नेतृत्वमा सरकारमा जाँदै, को को मन्त्री बन्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिन लागेका हुन् । 

दुई ठूला दलहरु नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय भएसँगै प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । 

शुक्रबार २८ गते उनी विश्वासको मत लिन असफल भएसँगै कांग्रेस र एमालेको भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । त्यसपछिको चुनावी प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा हुनेछन् । 

पहिलो चरणमा ओलीको नेतृत्वमा सरकार बन्ने भएसँगै एमालेले पनि मन्त्रीहरुको रोजाइ गरिरहेको छ भने कांग्रेसलाई एउटा उपप्रधानसहितका मन्त्रालयहरु दिने तयारी छ । 

एक जनामात्र उपप्रधानमन्त्री राख्ने भद्र सहमति भएको बताइएको छ । एमाले आन्तरिक कसरतमा रहेका बेलामा कांग्रेसभित्र पनि समीकरण बन्दै गएको छ । 

कसको नेतृत्वमा कांग्रेस, को को मन्त्री ?
नेपाली कांग्रेसभित्र जहिले पनि लोकतान्त्रिक अभ्यास चल्ने गर्छ । त्यसैकारण पनि गठबन्धन सरकारमा जानका लागि आकांक्षी सांसदहरु धेरै रहेका छन् । 

कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर अहिले नै यकिन गर्ने अवस्था छैन । यद्यपि सभापति देउवालाई कसको नेतृत्वमा सरकारमा पठाउने र कसलाई मन्त्री बनाउने भन्ने चुनौती देखिएको छ । 

देउवाले महामन्त्री गगनकुमार थापालाई नेतृत्व गरेर सरकारमा सहभागी हुनका लागि आग्रह गरिरहेका छन् । 

एमालेसँग कुममा कुम जोडेर काम गर्नका लागि सोही खालको नेता जरुरी पर्ने भन्दै देउवाले महामन्त्री थापालाई नै कांग्रेसको नेतृत्व गरेर जान आग्रह गरेका हुन् । त्यसो त ओली पनि थापालाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन पाए आफ्नो विरोध सदाका लागि बन्द हुने अपेक्षामा छन् । 

तर महामन्त्री थापा भने पार्टीभित्र धेरै काम गर्न बाँकी रहेको भन्दै आफू सरकारमा जाने पक्षमा देखिएका छैनन् । उनले सघाउने वचनमात्र दिएका छन् । 

यतिबेला सभापति देउवा र महामन्त्री थापाबीच कसलाई सरकारमा पठाउने भन्ने बारेमा गम्भीर छलफल हुँदै आइरहेको छ । एकआपसमा सहयोग गरेर जाने विषय चलिरहेकाले दुवै नेताहरु गम्भीर भएरै यो समस्याको समाधान गर्ने पक्षमा रहेको देखिन्छ । 

पहिले पटक–पटक मन्त्री भएकालाई दोहोर्याउने पक्षमा यसपालि देउवा छैनन् । सोही कारण पनि निकै गम्भीर भएर महामन्त्री थापासँग सहयोग मागेरै सल्लाह गरिरहेका छन्

धेरै आकांक्षीबीच सन्तुलित टिम पठाउने विषयमा सभापति र महामन्त्री थापालाई चुनौती रहेको देखिन्छ ।

सभापति निवास बुढानीलकण्ठमा आकांक्षीहरु धाइरहँदा देउवाले सल्लाहका लागि महामन्त्री थापाकोमा समेत पठाउने गरेको पाइएको छ । यसले गुटबन्दी अन्त्य गरी सबै पक्ष मिलाएर लैजानेतर्फ सभापति र महामन्त्री रहेको बुझिन्छ । 

सोही कारण मन्त्रीका आकांक्षीहरुले दुवैलाई भेटिरहेका छन् । महामन्त्री थापाले आफू सरकारमा नजाने बताइरहँदा परिस्थिति कस्तो हुन्छ अझै भन्न सक्ने अवस्था छैन । 

यद्यपि ढोका भने खुला रहेको बुझिन्छ । कसैले अनुभवी कृष्णप्रसाद सिटौलालाई सरकारमा जान पहल गरेको पाइन्छ । तर यसमा सिटौला आफैँले इच्छा नदेखाइरहेको सन्दर्भमा उनी सरकारमा सहभागी नहुने बुझ्न सकिन्छ । 

मध्यमार्गीका रुपमा उपसभापतिसमेत भइरहेका र मन्त्रालय सम्हालेको अनुभव लिइसकेका प्रकाशमान सिंहलाई नेतृत्व गरेर पठाउन सक्ने सम्भावना उत्तिकै रहेको छ ।

प्रकाशमानलाई नेतृत्व गरेर पठाउने बारेमासमेत छलफल नै भएको छ । केपी शर्मा ओलीले पनि प्रकाशमानले नेतृत्व गरेर कांग्रेसबाट आउँदा अप्ठेरो नहुने भनी हरियो झण्डा देखाइसकेको स्रोत बताउँछ ।  

महामन्त्री थापा नेतृत्व गरेर नजाने हुँदा स्वास्थ्य प्रतिकुलताका बाबजुत पनि प्रकाशमानले कांग्रेसको नेतृत्व गरेर जाने प्रवल सम्भावना रहेको छ । फेरि देउवाले आफू सभापति हुँदा प्रकाशमानले लगाएको गुन तिर्न बाँकी रहेको बताउँदै आइएको छ । 

महामन्त्री थापा सरकारमा नजाँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा सरकारमा जान सक्ने सम्भावना पनि बलियो छ । 

यसपालि सभापति देउवाले नेता डा. शेखर कोइरालासँग पनि समन्वय गरिरहेका छन् । महामन्त्री थापा सरकारमा नजाँदा महामन्त्री थापाले आफ्नो पक्षका दुई जनालाई र डा. शेखरले पनि दुई जना पठाउने तयारी गरेको बुझिन्छ । 

केही दर्जन सांसदहरु सरकारमा जानका लागि आकांक्षी रहेका छन् । क्लस्टर मिलाउँदै जाँदा दलिततर्फ छुटेकाले यसपालि सहमहामन्त्री जीवन परियारको सम्भावना अधिक देखिएको छ । 

त्यस्तै अर्का सहमहामन्त्री किशोर सिंह राठोरको सम्भावना पनि प्रवल रहेको छ । साथै सुदूरपश्चिमबाट अर्का सहमहामन्त्री बद्री पाण्डेको पनि सम्भावना उत्तिकै देखिन्छ । 

सुदूरपश्चिमबाट बद्री पाण्डेको सम्भावना रहेको छ । तर सभापति देउवाको उक्त क्षेत्रबाट रमेश लेखक गृहमन्त्री र आरजू राणा देउवा परराष्ट्र मन्त्री बन्ने पक्का जस्तै छ । नेता लेखकले नयाँ गठबन्धनका लागि गहन पहल गरेका थिए । 

त्यस्तै नयाँ गठबन्धनका लागि मेहनत गर्ने अर्का नेता हुन् केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी । सोही कारण पनि उनी मन्त्रीका प्रवल दावेदार हुन् । सभापति देउवालाई गुन लगाउँदै आएका चौधरी तीन पटक सांसद भए तर अहिलेसम्म मन्त्री हुने अवसर पाएका छैनन् । 

उनी व्यापारिक पृष्ठभूमिबाट आएका भए पनि अहिलेसम्म पार्टीलाई योगदानमात्रै दिँदै आएका छन् । 

डलर अर्बपतिसमेत रहेका उनमा देश समृद्द बनाउने एकमात्र हुटहुटी रहेकाले पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर खस्केको नेपालको अर्थतन्त्रलाई उकास्न लागिपर्ने विश्वास लिइएको छ । सांसद चौधरीलाई मन्त्री बनाउन अन्य ब्यापारीहरुलेसमेत दबाब दिइरहेका छन् । 

त्यस्तै थारु क्लस्टरबाट यसअघि हटाइएका तेजुलाल चौधरीलाई यसपटक सम्भावना बढी छ । काठमाडौँबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरिरहँदा प्रदीप पौडेल र प्रतिमा गौतमको सम्भावनालाई नकार्न सकिन्न । 

त्यस्तै रसुवाबाट निरन्तर चुनाव जित्दै आएका इन्जिनियर मोहन आचार्य पनि मन्त्रीका दावेदार रहेका छन् । उनले लामो समयदेखि देउवालाई सघाउँदै आएका छन् । 

शेखर कोइरालाको तर्फबाट डा.चन्द्र भण्डारी, सञ्जय गौतम, हृदयराम थानी र रामनाथ अधिकारीको सम्भावना बढी रहेको देखिन्छ ।  

दीपक गिरी सम्भावना पनि उत्तिकै छ । उनले डा. शशांक कोइरालासँगै गगन–शेखरको सद्भाव खोजिरहेका छन् । 

प्रदेश र समावेशी सिद्धान्त मिलाउँदै जाँदा लीला बोकिम, सरिता प्रसार्इं, डा. सुनील शर्मा, शंकर भण्डारी, अजय चौरसियालगायतका सांसदहरु पनि मन्त्री बन्ने लाइनमा देखिन्छन् । 

डा. शर्मा त प्रतिनिधि सभाको निर्वाचनमा ‘पपुलर भोट’ का साथ विजयी भएका कारण पनि मन्त्री बन्ने लाइनमा देखिएका हुन् । 

थुप्रै आकांक्षी भए पनि महामन्त्री थापाले समावेशी मन्त्रिमण्डल बनाउनु पर्नेमा जोड दिँदै आएका छन् । त्यसका लागि उनी सभापतिसँग निकट रहेर गृहकार्यमा लागिरहेका छन्। 



नयाँ