arrow

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उरुग्वे पराजित, उपाधि भिडन्त अर्जेन्टिनासँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
copa-america-2024-col-uru-sf.jpg

काठमाडौँ । कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बिहीबार बिहान सम्पन्न खेलमा कोलम्बियाका लागि ३९औँ मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सीमित हुन पुगेको थियो । 

त्यसको फाइदा उठाउन असफल भएसँगै १५ पटकको च्याम्पियन उरुग्वे प्रतियोगिताबाट बाहिरिएको छ । 

योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । बुधबार बिहान भएको सेमिफाइनलमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडालाई २–० ले पराजित गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टिम अर्जेन्टिना फाइनलमा पुगेको हो । 

डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक कोपाको उपाधि जितेका छन् ।

फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५ः४५ बजेदेखि शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ