काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) आफ्नै लगानीमा नेपाल आफैले बनाउने बताएका छन् । फास्ट ट्रयाक निर्माणका लागि निजगढबाट पैदल यात्रा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमाडौं आएकाहरुको ज्ञापनपत्र बुझ्दै सोमबार दिउँसो प्रधानमन्त्री दाहालले फास्ट ट्रयाक नेपाल आफैले बनाउने निर्णय गरी सकिएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ, छिटो बनाउनुपर्छ भनेर तपाईहरु जसरी दवाव दिन आउनुभएको छ, यो आफैमा मौलिक छ । तपाईहरुको यो अभियान सरकारका लागि नैतिक दवाव र उर्जाको अर्थमा मैले लिएको छु । सरकार फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ । सरकारले छिटै काम अघि बढाउँछ ।’
विकासका लागि युवाहरुको एकता र उर्जा प्रेरणादायी भएकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले थपे, ‘राजनीतिक उद्देश्यका लागि त यस्ता पैदल यात्रा धेरै भए । तर, विकासका लागि पैदल यात्रा र दबाब त्यति धेरै हुने गरेका छैनन् । तपाईहरुको चासो र चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिन्छ । फास्ट ट्रयाक निर्माणका लागि तपाईहरुले जुन सामग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु । यहाँहरुले दिएका सामग्री हाम्रा लागि सर्कुलरको अर्थमा लिएको छु ।’
ज्ञापन पत्र बुझाउँदै टोलीले बारा जिल्लामा अवस्थित ठूला राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढ विमानस्थलको निर्माण कार्य नेपाली लगानीमा नै तुरुन्त अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो ।
राष्ट्रिय गौरवको काठमाडौँ–निजगढ फास्ट ट्रयाक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई जतिसक्दो चाँडो अघि टोलीले माग गरेको छ । द्रुतमार्ग निर्माण सङ्घर्ष समिति (प्रभावित एवं लाभान्वित जिल्लावासी)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई द्रुत मार्गको काम द्रुतगतिमा अघि बढ्न नसक्दा आयोजना प्रभावित क्षेत्रमा विकास निर्माणसमेत ठम्प भएको सुनाए ।
‘२२ मिटर चौडा हुने द्रुतमार्गले ७६ किमीको दुरीमा राजधानीलाई जोड्न सक्छ । जुन अहिलेको चालु सडकभन्दा १५९ किमी कम छ भने समय पनि झन्डै सात घन्टा कम लाग्ने जनाएको छ । यी आयोजनाको निर्माणपछि श्रम, शक्ति र समयको कटौती भई वार्षिक अर्बौं रूपैयाँ राज्यकोषमा बचत हुने देखिन्छ’– ज्ञापनपत्रमा भनिएको छ ।
द्रुतमार्ग र विमानस्थलको निर्माण गर्नुपर्ने उद्देश्य बोकेर समितिले सङ्घर्षका विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ । सोही क्रममा समितिको नेतृत्वमा सोमबार बिहान निजगढबाट आएका पैदलयात्री एकान्तकुनामा जम्मा भई एकान्तकुना, जाउलाखेल, कुपण्डोल, थापाथली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग, नक्साल हँुदै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयसम्म पैदलयात्रा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायतका प्रभावित जिल्लाका प्रतिनिधि सहभागी रहेको सङ्घर्ष समितिले सुरु गरेको छ महिने सङ्घर्षका कार्यक्रमअन्तर्गत रिले अनशन, अन्तक्र्रिया, पत्रकार सम्मेलन र प्रचारप्रसारलगायत रहेका छन् ।