प्यूठान । सरकारकले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्यूठानमा सोमबार पनि प्रदर्शन भएको छ । अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै दुई सातादेखि जारी आन्दोलनलाई त्यहाँका स्थानीयले सोमबार पनि प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण प्यूठान सदरमुकामका पसल कलकारखाना सोमबार पनि दिउँसाे १ बजेदेखि ३ बजेसम्म बन्द भए ।
दिउँसो सदरमुकामका विभिन्न स्थानमा विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ लगायतका नेताहरुले सम्वोधन गरेका थिए । संविधान संशोधन मार्फत मुलुकलाई बर्बादीको दिशामा लैजान सरकार उद्दत भएको भन्दै उनीहरुले प्रस्ताव फिर्ता गर्न माग गरेका छन् ।
संवोधन गर्नेहरुले प्रस्ताव फिर्ता नभए आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारी ‘प्रकाश’ले संवोधनका क्रममा यस्तो प्रतिक्रिया दिए ।
यसैगरी सत्ता साझेदार नेपाली कांग्रेसका प्यूठान सचिव देवेन्द्र बर्माले शान्तिपूर्ण आन्दोलनको आवाज सरकारले सुन्न नसकेमा स्थिति भयावह हुने चेतावनी दिए । सरकारमै रहेको राप्रपाका जिल्ला अध्यक्ष चुमानसिंह बस्नेतले पहिलो देश र जनता त्यसपछि मात्र पार्टी हुने भन्दै जनभावना विपरित सीमांकन हेरफेर गर्न नहुने धारणा राखे ।