arrow

डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको विश्व समुदायबाट विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
trump-attack-23-7-14.jpg

वासिङ्टन । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ । 

पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्‍यालीमा गोली प्रहार हुँदा उनी आइतबार घाइते भएका हुन् । विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले हत्या प्रयासका क्रममा घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् ।  

अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएका छन् ।

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि उक्त आक्रमणको निन्दा गरेका छन् । “एक पटक फेरि, हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौं,” उनले भने ।  

बेलायती प्रधानमन्त्री कीएर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनावी र्यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताए । “कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,” उनले भने ।
 
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास ‘घृणित’ भएको बताएका छन् ।  स्कोल्जले एक्समा लेखेका छन्, “अमेरिकी राष्ट्रपतिपदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको आक्रमण निन्दनीय छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस्ता हिंसात्मक गतिविधिले लोकतन्त्रलाई खतरामा पार्छ ।” 

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले आइतबार पूर्व अमेरिकी राष्ट्रपतिको हत्याको प्रयासलाई ‘त्रासदीपूर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुन नहुने बताएका छन् । उनले भने, “अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद् घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।” 

त्यसैगरी, चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नया राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणप्रति प्रतिक्रिया दिँदै घटनाको निन्दा गरेका छन् । उनले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“हामी लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ रहनुपर्छ,” जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि राजनीतिक आक्रमणको विरुद्धमा प्रतिक्रिया व्यक्त गरे । 

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद् भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताएकी छिन् । साथै, ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । 

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताएका छन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पूर्व अमेरिकी राष्ट्रपति सुरक्षित भएकोमा राहत व्यक्त गर्दै ट्रम्पको चुनावी कार्यक्रममा भएको डरलाग्दो दृश्यहरू देखेर स्तब्ध भएको बताएका छन् । “यो अष्ट्रेलिया र अमेरिकीहरूले साझा रुपमा अनुशरण गर्ने लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्रतामाथिको अक्षम्य आक्रमण हो,” अल्बनिजले भने । 

न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले ‘कुनै पनि देशले यस्तो राजनीतिक हिंसाको सामना गर्नु हुँदैन’ भन्दै आक्रमणको निन्दा गरेका छन् । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताए । “हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गर्दछौँ,” नेतान्याहूले भने । 

यसैबीच अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणको विरोध गर्दै प्रतिक्रिया जनाएका छन् । 

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति, पूर्वराष्ट्रपति र उम्मेदवारहरूको कडा सुरक्षाबीच यसअघि पनि राजनीतिक हिंसाका घटनाहरू भएका छन् ।

सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो भने सन् १९६८ मा उहाँका भाइ बबी केनेडीको गोली हानी हत्या गरिएको थियो । 

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सन् १९८१ मा हत्याको प्रयासमा गरिएको यस्तै आक्रमणमा बाँच्न सफल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ