arrow

जिल्लावासी मन्त्री बनेपछि स्वास्थ्यमा सुधार हुने तनहुँवासीको अपेक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
pradip-poudel-minister-heal.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ का शङ्कर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताए ।

“गरिबीको रेखामुनी रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौँ । उनले गर्ने कामसँग गृह जिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौँ, उनले भने ।

पन्तले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा सङ्घीय सरकारको मातहत रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रजस्ता अस्पताल व्यवस्थित गर्न मन्त्री पौडलेबाट महत्वपूर्ण भूमिका अपेक्षा गरिएको सुनाए ।

तनहुँको भिमाद नगरपालिका-५ निवासी मिलन आले स्वास्थ्य क्षेत्रको जटिलता र बेथिति हटाउँदै नागरिकको हितमा काम गर्न उहाँको ध्यान केन्द्रित हुनुपर्ने बताउँछन् ।

उनी भन्छन्, “अवसर सधैँ आउँदैन, उनले देशको स्वास्थ्य क्षेत्र सुधार्ने जिम्मेवारी पाउनुभएको छ, यो हामी जिल्लावासीका लागि खुसीको कुरो हो । अब उनले स्वास्थ्य क्षेत्र सुधारका लागि उत्कृष्ट काम गर्नुहुनेछ भन्ने आशा गरेका छौँ ।”

म्याग्दे गाउँपालिका-४ मनहरीका गौरवराज रानाले जन्मथलोको उत्तरदायित्व, निर्वाचन क्षेत्रको कर्तव्यलाई सधैँ उच्च स्थानमा राखेर संवेदशील जिम्मेवारी कुशलतापूर्व बहन गर्न आग्रह गरे ।

उनले गृहजिल्लाका अस्पतालको स्तरोन्नति गरी पछिसम्म पनि नागरिकले सम्झिने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिए ।

शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीका कृष्णप्रसाद रेग्मीले प्राप्त अवसरको सदुपयोग गर्न र कार्यकाल सफल बनाउन स्वास्थ्यमन्त्री पौडेल खरो रूपमा उत्रिनुपर्ने बताए ।

उनले भने, “हामीले उहाँलाई नजिकबाट चिनेका छौँ, अनवरत सङ्घर्ष, सङ्गठनप्रतिको लगाव र जुझारुपन उहाँ विशेषता हुन् । अब त्यही लगाब, ऊर्जा र जुझारुपन देशको स्वास्थ्य क्षेत्रमा सुधारमा प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य मन्त्री पौडेलको जन्म विसं २०३१ चैत १४ गते बुवा डिल्लीरमण पौडेल र आमा दुर्गादेवीको कोखबाट भएको थियो । नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै विसं २०४६ सालको जनआन्दोलनमा सक्रिय उनी २०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए ।

लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी ०६४ मा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति भए ।

समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल कांग्रेस केन्द्रीय सदस्यसमेत छन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित भएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ