arrow

संघीयपछि प्रदेशमा फेरिँदै सत्ता, कोशीमा किन मागिएन माओवादीका मन्त्रीहरुको राजीनामा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय सरकारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनिसक्दा पनि नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाडेको छैन । 

सात वटै प्रदेशमा केन्द्रको निर्णय लागू भैसकेको अवस्थामा कोशीमा माओवादीले सरकार छाडेको छैन । चार महिनाअघि एमाले र माओवादी मिलेर सरकार बनाएका थिए ।

नयाँ गठबन्धनले संघीय सरकार बनाइसकेको र अन्य प्रदेश सरकारमा पनि परिवर्तनको प्रक्रिया शुरु भइसकेको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरूसँग राजीनामा नमागेको र आफ्नो पार्टीले पनि सरकारबाट बाहिरिन निर्देशन पनि नदिएको भन्दै माओवादीका मन्त्रीहरु सरकारमा बसिरहेका हुन् । 

गत बैशाख २७ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा एमाले र माओवादीको सरकार गठन भएको थियो । 

सरकार गठन भएको एक महिना नबित्दै केन्द्रीय सत्ता समीकरण फेरिएपछि माओवादी मन्त्रीहरू सत्ता लम्ब्याउने प्रयासमा लागेका हुन् । 

माओवादीका कोशी प्रदेश सांसद गणेश उप्रेतीले मुख्यमन्त्रीले राजीनामा नमागेका कारण अहिलेसम्म सरकारमा रहेको बताएका छन् ।

‘माओवादीका मन्त्रीको राजिनामा मागिएको छैन’, उनले भने ।

संघमा सरकार नबन्दै मधेश प्रदेशमा सहमति कार्यान्वयन गरेका कांग्रेस एमालेले सुदूरपश्चिम, बागमती, लुम्बिनी, कर्णाली र गण्डकीमा सहमति कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । 

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने कार्यक्रम तय भएको छ । 

उनले विश्वासको मत पाउने सम्भावना छैन । त्यहाँ माओवादी नेतृत्वको सरकार ढलेपछि एमालेको नेतृत्वमा सरकार बन्नेछ । 

गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे अहिले मुख्यमन्त्री रहेका छन् । उनको सरकारमा एमाले सहभागी हुने तयारी छ ।

लुम्बिनीमा पनि एमालेको नेतृत्वमा सरकार बन्नेछ । त्यहाँ एमालेलाई कांग्रेसले सहयोग गर्ने जनाइएको छ । 

कर्णालको सरकारमा कांग्रेसले सहभागिता जनाउनेछ भने सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई एमालेले सहयोग गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ