arrow

लक्ष्यभन्दा कम यार्सा निकासी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
yarshagumba-2080-04-12.jpg

दार्चुला । गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताए । 

यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो रु ३१ हजारका दरले राजस्व लिने गरेको र उक्त अवधिमा रु दुई करोड ८९ लाख चार हजार राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।

कार्यालयका वार्डेन विनयकुमार झाले छिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा सङ्कलन गर्न नसकिएको बताए । उनले सङ्कलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको बताउने गरेको जानकारी दिए । 

“बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन–अनुसन्धान गर्ने योजनामा छौँ”, उनले भने । 

दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ ।

व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताए । पछिल्लो समय यार्साको मूल्यसमेत घटेको उनको भनाइ छ । 

“यहाँ सङ्कलकहरुसँग किन्नुपर्दा महँगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम रु १७ देखि १८ लाख खरिद गरेर काठमाडौँमा रु १४ देखि १५ लाख प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,” उनले भने । व्यापारीहरुले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ