arrow

कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बीपीलाई बिना कारण जेल हाले -प्रम ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
kp-sharma-oli-81-4-3r.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन् ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्‍याउँछु भनेकैले बीपीलाई जेलमा हालिएको बताए । सोही कारण बीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।

“झूटा आरोप र मुद्दाका आधारमा बीपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बीपीलाई बिनाकारण जेल हाले, बीपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाए, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उन अघि बढ्नुभएको थियो,” प्रधानमन्त्री ओलीले भने । 

जनताले लगाएको कपडाका साथै जनताको अवस्था देखाउँदा बीपीका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालालाई पनि राणा शासकले सर्वस्व हरण गरी निर्वासनमा पठाएको उनको भनाइ छ । बीपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका लागि सङ्घर्ष गरेको प्रधानमन्त्री ओलीले बताए । 

बीपीले विसं २०३५ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रुपमा राष्ट्रिय एकताको सवाल उठाएको उनले सुनाए । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बीपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । 

“जीवनमा सङ्घर्ष गरेरै बीपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बीपीका बेलाको बलिदान र सङ्घर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै सङ्घर्ष गरेकैले बीपी कालजयी व्यक्तित्व बन्नुभयो,” उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ