arrow

मानव बेचबिखन बढेको भन्दै सचेत रहन अध्यागमनका कर्मचारीलाई गृहमन्त्री लेखकको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
ramesh-lekhak-81-4-8.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान काठमाडौँस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबैभन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका हुन् ।

उनले भने, ‘तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ, उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसकहरुलाई पनि बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो’, उनले भने, ‘गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।’

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ’, उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रहसमेत गरे ।

राम्रो कानून बनाएर कानून बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । ‘संशोधन गर्नुपर्ने कानून, नियम र कार्यविधि ल्याउनुस्’, नले भने, ‘कानून निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङ्गको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याए ।

यसैगरी कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तनिकाय बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

अध्यागनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए । गृह, पर्यटन लगायतका निकायबिच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृह सचिव अर्यालको भनाइ थियो ।

यस्तै अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले अध्यागनमले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतीका विषयमा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ