arrow

नारायणघाट–मुग्लिन सडकको योजना बनाउनेले सिमलताल घटनाको जिम्मेवारी लिनुपर्छ: भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
chandra-bhandaris.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले नारायणघाट–मुग्लिन सडक विस्तारको योजना बनाउनेले सिमलताल दुर्घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाको विशेष समयममा बोल्दै भण्डारीले नारायणघाट मुग्लिन सडक खण्डको अनावश्यक विस्तारका कारण अहिलेको दुर्घटना भएको बताएका हुन् । 

उनले उक्त सडकमा घुम्ती चौडा मात्रै गरेको भए हुने अवस्था भए पनि कमिसनका लागि सडक विस्तार गर्न लागिएको दाबी गरे । ‘नारायणघाट–मुग्लिन बाटो त्यति धेरै बढाउनुपर्ने थिएन, घुम्ती काटिदिएको भए हुन्थ्यो । कमिसनका लागि २ मिटर बाटो बढाउन २० मिटर बाटो खनेको कारणले आज यति धेरै मान्छे मरे,’ उनले भने, ‘यसको जिम्मेवारी कसले लिने ? जसले योजना बनायो, उसलाई क्षतिपूर्ति दिलाउनुपर्छ, कारबाही गर्नुपर्छ ।’

मुग्लिन नारायणघाट सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोमा परी दुईवटा बस बेपत्ता भएका छन् । उक्त बसमा सवार ६० जना भन्दा बढी यात्रु पहिरोमा परेका छन् । बीच बाटोबाट गाडी चढेकाहरुको अहिलेसम्म पहिचान समेत भएको छैन । यस्तो अवस्थामा उनले सडकको योजना बनाउनेमाथि नै कारबाहीको माग गरेका हुन् । 

उनले अर्घाखाँचीको सुपादेउरालीमा डाँडो काटिएको प्रति समेत आपत्ति जनाए । उनले भने, ‘अहिले विचौलियाहरुलाई केही पनि देख्न नहुने भयो । अर्घाखाँचीको सुपा देउरालीको पहाड काटिँदा, रुपन्देहीको झुन्सापारिको पहाड काटिँदा यस्तै बाढी गयो भने अब रुपन्देहीमा लाखौं मान्छेको क्षति हुन्छ । त्यो पहाड काट्न कसले स्वीकृति दियो ?’

भण्डारीले अहिले संसदमा एकाध व्यक्तिको लाइन काटियो भन्ने विषयमा मात्रै बहस केन्द्रित हुने गरेको भन्दै पैसा तिर्न नसकेर लाइन काटिएका १ लाख ७५ हजार परिवारबारे समेत छलफल गर्नुपर्ने बताए । उनले राष्ट्रिय परिचयपत्रमा बनाउँदा पुरानो ठाउँको नाम समेत समावेश गर्नुपर्ने तथा आफ्नो कला संस्कृति र पहिचानलाई देखाउने पहिरन र भेषभुषालाई मान्यता दिनुपर्ने मागसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ