arrow

ट्रम्प हत्याको प्रयासपछि सिक्रेट सर्भिसकी निर्देशकले दिइन् राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
secret-service-america-director.jpg

काठमाडौँ । अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन् । 

उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन् । 

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । 

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, “यो धेरै ढिलो भएको छ, उनले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उनले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिएकामा मलाई खुशी लागेको छ ।”

चिटलले सोमबार कांग्रेस कमिटीसमक्ष ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनेकी थिइन् । 

रिपब्लिकन र डेमोक्रेट दुवैले उनलाई राजीनामा दिन आह्वान गरेका थिए । उनले सक्रिय अनुसन्धानलाई उद्धृत गर्दै आक्रमणका बारेमा विशिष्ट विवरण दिन अस्वीकार गरेर दुवै दलका सांसदहरूलाई क्रोधित बनाएकी थिइन् ।

ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल एसल्ट राइफलले उनमाथि गोली चलाएका थिए । 

नजिकैको एउटा भवनको छतबाट आठमध्ये पहिलो गोली चलाएको ३० सेकेन्डभन्दा पनि कम समयमा सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । 

बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन् । 

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो । 

ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताए । 

पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेका थिए । उनलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ