arrow

रोजगारी कोटाको विरोध गर्ने २५ सय बढीको गिरफ्तारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
bangladesh-agitation-curfew.jpg

काठमाडौँ ।  रोजगारी कोटाको विरोधमा व्यापक अशान्ति फैलिएपछि बङ्गलादेशमा हिंसाका दिनहरूमा गिरफ्तारीको सङ्ख्या मङ्गलबार दुई हजार पाँच सय नाघेको एएफपीले बताएको छ । 

प्रहरी र अस्पतालहरूले रिपोर्ट गरेका पीडितहरूको छुट्टै एएफपी गणनाअनुसार धेरै प्रहरी अधिकारीसहित कम्तीमा एक सय ७४ जनाको मृत्यु भएको छ । 

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा गत साता सरकारी नोकरीका लागि राजनीतिकरण गरिएको भर्ना कोटाविरुद्ध प्रदर्शन सुरु भयो ।

विरोध प्रदर्शनपछि मुलुकभर कर्फ्यु लगाइयो र सैनिकहरूलाई तैनाथ गरियो । राष्ट्रव्यापी इन्टरनेट ब्ल्याकआउटले सूचनाको प्रवाहलाई धेरै हदसम्म प्रतिबन्धित गर्यो । 

प्रदर्शनको नेतृत्व गरिरहेको विद्यार्थी समूहले सोमबार आफ्नो विरोध प्रदर्शन ४८ घन्टाका लागि स्थगित गरेको छ । समूहका नेताले ‘यति धेरै रगतको मूल्यमा’ सुधार चाहिएको थिएन भनेका छन् ।

आफूलाई ज्यानको खतरा रहेको बताउने नाहिद इस्लामले मङ्गलबार साँझ अर्को ४८ घन्टाका लागि स्थगितलाई थप बढाइएको बताए । अर्थात विरोध प्रदर्शन शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

सेना प्रमुखले स्थितिलाई ‘नियन्त्रण’ मा लिइएको बताए पनि प्रतिबन्ध कायमै छ । दूरसञ्चारमन्त्रीले ब्रोडब्यान्ड इन्टरनेट मङ्गलबार साँझ पुनःस्थापित हुने बताए । यद्यपि उनले विरोध प्रदर्शनका आयोजकहरूका लागि प्रमुख सञ्चार पद्धति मोबाइल इन्टरनेटबारे कुनै उल्लेख गर्नुभएन । 

पहिलो पटक बैंक पुनः खुलेसँगै अधिकारीहरूले नागरिकहरूको दैनिक आवश्यकता प्राप्तिमा सहयोग गर्न बुधबार कर्फ्युमा दिउँसोको छुटमा पाँच घन्टासम्म बढाइने बताएका छन् । 

ढाकामा ठूलो सैन्य उपस्थिति थियो । केही चोकमा बङ्कर राखिएका थिए र प्रमुख सडकहरूमा काँडेतारले अवरोध बनाइएको थियो । यद्यपि सडकहरूमा सयौँ रिक्सासहित धेरै मानिस थिए । 

विरोध प्रदर्शन आयोजना गर्ने मुख्य समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख नाहिदले ४८ घन्टाको विस्तारका क्रममा कुनै विरोध प्रदर्शन नहुने बताए । 

“सरकारले इन्टरनेट पुनःस्थापित गर्नुपर्छ, कर्फ्यु फिर्ता लिनुपर्छ, क्याम्पस खोल्नुपर्छ र विद्यार्थी आन्दोलनकारीहरूको सुरक्षा गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने । उनले आफ्नो सङ्गठनबाट बेपत्ता भएका चार संयोजकलाई ‘फिर्ता’ गर्नुपर्ने माग गर्नुभयो ।

सम्पूर्ण बङ्गलादेशमा धेरै हदसम्म व्यवस्था बहाल भए पनि बङ्गलादेशी राजनीतिमा सिडनीस्थित विशेषज्ञ मुबाशर हसनले यस कारवाहीले सरकारको विश्वव्यापी छविलाई अझ धमिल्याउने बताए । 

“यसलाई राजनीतिलाई अपराधिकरण गर्ने सरकारका रूपमा थप बुझिनेछ, सरकारले आन्दोलनकारी, आफ्नै नागरिकलाई गोली हान्न आफ्नै सुरक्षा बलको प्रयोग गर्दछ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ