arrow

सेनाको कमाण्ड

रथी सिग्देलको प्रधानसेनापति बन्ने बाटो खुल्यो, जन्ममितिको विवादमा पुगेन प्रमाण

प्रधानसेनापति शर्मा साउन २५ गते अनिवार्य अवकाशमा जाँदै, भदौ २५ मा सिग्देलले जिम्मेवारी सम्हाल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
ashokraj-sigdel-rathi-81.jpg

काठमाडौँ । प्रधानसेनापति बन्ने रोलक्रममा रहेका रथी अशोकराज सिग्देललाई जन्ममितिमा विवादमा प्रमाण नपुगेको भन्दै बढुवाका लागि बाटो खोलिदिएको छ । 

४५ औँ प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि सर्वोच्चले साउन १३ गते (आइतबार) प्रमाण अभाव भन्दै रिट दरपीठ गरेर बढुवाका लागि बाटो खोलेको हो ।  

प्रधानसेनापति प्रभुराम शर्मा यही साउन २६ गतेबाट घर बिदामा बस्दैछन् । उनी भदौ २५ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

सिग्देलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंसिर ४ गते उजुरी परेको थियो ।  

उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । 

तर रक्षाले यो विषय अख्तियारलाई जानकारी दिएको छैन । उता सर्वोच्चमा परेको निवदेन भने दरपीठ भएको छ ।

वास्तविक जन्म मिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको स्रोतको दाबी छ । 

२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । 

२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । 

उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको स्रोतको दाबी छ । 

सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्म मिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ ।

त्यस्तै २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।  

सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।   
 
प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले गत कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । 

उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो । 

तर अख्तियारले छानबिनका लागि निर्देशन दिएको पत्र रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालय पुगेपछि रथी सीताराम खड्का नेतृत्वको समितिले छानबिन गरेको थियो । त्यसपछि पाण्डेले राजीनामा दिएका थिए । 

अहिले सिग्देलको जन्ममिति विवाद बारे पनि जंगी अड्डाले खण्डन गरेको छ । नेपाली सेनाले गत साता पत्रकार सम्मेलन गरेर बलाधिकृत रथी सिग्देलको नागरिकतामा जन्ममिति विवाद नरहेको प्रस्टीकरण दिएको छ । 

पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता गौरवकुमार केसीले रुपन्देहीमा शुरुमा लिएको नागरिकता प्रमाणपत्र, जाजरकोटबाट पछि लिएको प्रतिलिपि तथा उनको शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिमा कुनै विवाद नभएको स्पष्ट पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ