arrow

एमसीसी अन्तर्गत दमौली सबस्टेशनको ठेक्का, सवा पाँच अर्ब लागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
mcc-new-damauli-2081.jpg

काठमाडौँ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत तनहुँको दमौलीमा ४०० केभीए क्षमताको सब-स्टेशन निर्माणसम्बन्धी सम्झौता भएको छ । 

एमसीसी परियोजना कार्यान्वयन गर्न नेपालमा गठित मिलिनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपाल र भारतीय कम्पनी टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडबीच सम्झौता भएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का उपस्थितिमा दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, एमसीए नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्ति सहभागी थिए ।

उक्त परियोजनाको लागत ३ करोड ८८ लाख अमेरिकी डलर (करिब ५ अर्ब १८ करोड रुपैयाँ) रहेको छ । यो सम्झौतासँगै अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सब-स्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेशन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेशन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेशनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यी तीनवटै सबस्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे । 

सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, “यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए–नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो सङ्केत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेशन महत्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।” 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अमेरिकी राजदूत श्री थम्प्सनले भने, “आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसीए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।” उनले अगाडि थपे, “समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्दैछ ।”

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, “एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुङ्गा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकायहरू अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।”

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । 

अहिले १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको जनाएको छ । 

त्यस्तै बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ