- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । विगत सात वर्षदेखि काठमाडौँको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घर पोखरामा पनि विस्तार गरिएको छ ।
पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर करिब एक करोड लगानीमा शाखा विस्तार गरिएको इजी ग्रुपका संस्थापक रामप्रसाद कंडेलले जानकारी दिए । दौरासुरुवाल, टोपीलगायत सटिङ-सुटिङमा स्थानीय उत्पादनलाई जोड दिइने उनले बताए ।
पोशाक घर ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौँमा खोलिएको हो ।
नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा विस्तार गरिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए ।
इजी ग्रुपले पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, एनजीओ, आइएनजीओ मललगायतमा कामदार उपलब्ध गराउँदै आएको छ । इजी ग्रुपअन्तर्गत पोखराको लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ ।
इजीले गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउँदै आएको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ ।
इजी ट्रेडिङका नाममा सरसफाइका सामानको विक्री भइरहेको संस्थापक कंडेलले बताए । इजीले पोखराका विभिन्न क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढी लगानी विस्तार गरेको छ ।
पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौँबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कंडेलले बताए । पोखरा शाखामा तानबाट बुनिएका अल्लो, लोक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिइनेछ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाश सपूतलगायतले पोखरा न्यूरोडस्थित शाखा शुभारम्भ गरे ।
पोउवासंघका अध्यक्ष प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताए । उनले पोखरामा पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा ध्यान दिन उनले आग्रह गरे ।
गायक प्रकाश सपूतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए ।
देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपूतको भनाइ थियो ।