arrow

तालचोक-बेगनास सडकका समस्या साताभित्रै समाधान गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
talchok-begnas-sadak.jpg

पोखरा । निर्माणाधीन तालचोक-बेगनास सडक विस्तारमा देखिएका समस्याका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यको सहभागितामा भएको छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवाद एक साताभित्र समाधान गर्ने समझदारी भएको छ ।

हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोकस्थित राइट अफवे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।

यी समस्याको समाधानमा लागि आवश्यक समन्वयका लागि नगर प्रमुख आचार्य, दलका नेताद्वय दिवसमान प्रधानाङ्ग र राधिकाकुमारी शाही योगी, महानगका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, पोखरा-३० का वडाध्यक्ष दुर्गा सुवेदी र पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतमलगायत रहने गरी विवाद समाधान समिति गठन गरिएको छ ।

समितिले विवादको समाधान गरी निर्माण कार्यमा आवश्यक सहजीकरण गर्नेछ । नगर प्रमुख आचार्यले महानगरको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाको म्याद अब धेरै नरहेकाले समयमा नै सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए ।

विश्व बैँकको सहयोगमा निर्माण भइरहेको आयोजना निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको उनले बताए ।

आयोजनाका कारण स्थानीय उपभोक्तालाई परेको समस्यामाथि खुला छलफल गर्न महानगरपालिका तयार रहेको बताउँदै उनले अल्पकालीन भन्दा पनि यसको दीर्घकालीन फाइदाका बारेमा सोच्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ