arrow

महतले गरे आर्थिक साक्षरता अभियानको शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
prakash-sharan-mahat-2081-04-21.jpg

काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गरेका छन् ।

अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उनले धारणा व्यक्त गरे । 

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उनले भने, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरुलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”

उनले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिए ।
“मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको थिएँ”, उनले भने, “विदेशमा बस्नेहरुले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठूलो सम्भावना छ ।”

कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । 

प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कडेल तेस्रो भए । उनीहरुलाई प्रमुख अतिथि डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे । 

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वतृत्वकला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ । 

कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्याः वित्तीय पहुँचका लागि बैंकहरुसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएका थिए । 

साथै ‘डिजिटल बैंकिङको वरदान र आशीर्वादः नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ