arrow

शुरू गरेका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
yamlal-kandel-cm-karnali.jpg
फाइल तस्बिर

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुरू गरिएका काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सोमबार बसेको २६औँ बैठकलाई सम्बोधन गर्दै उनले समयमा काम हुँदैन भन्ने भाष्यको अन्त्य गरी थालिएका काम सकिएको विवरण दिने गरी सरकार अगाडि बढ्ने बताए।

मुख्यमन्त्री कँडेलले भने, ‘व्यवस्था बदलियो, संविधान निर्माण भयो। संविधान राम्रो हुँदा त्यसको सही कार्यान्वयन नहुँदा नागरिकले प्रत्याभूति गर्ने गरी काम भएको देखिदैन। यसतर्फ ध्यान दिनुपर्छ।”

कर्णालीमा जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नतर्फ सरकारको ध्यान गएको उल्लेख गर्दै उनले प्रदेश लोकसेवा आयोगबाट जनशक्ति व्यवस्थापन गर्न विशेष सहजीकरण गर्ने बताए।

‘जनशक्ति व्यवस्थापनमा समस्या छ, उपलब्ध जनशक्तिले पनि उत्साहित भएर काम गर्न सकेका छैनन्। त्यसैले काम गर्नेहरूले मुद्दा खेप्नुपर्ने अवस्था आउन नदिने, तोकिएको काम पूरा नगर्नेलाई जिम्मेवारी दिने, मूल्यांकनको परिपार्टीलाई व्यवस्थित बनाएर लैजाने पद्धति बसाल्ने र अब काम गर्दा समय मै भुक्तानी हुन्छ भन्ने मानक तयार गर्न मेरो जोड रहने छ’, मुख्यमन्त्री कँडेलको भनाइ थियो।

कानुनी र नीतिगत प्रबन्धमार्फत आगामी योजना बनाइने भन्दै उनले व्यवस्थित र पारदर्शी योजना छनोट गर्ने पद्धति बसाल्ने र विकास तथा समृद्धिका सपनालाई पूरा गर्न आवश्यक कानुन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कँडेलले संविधानले निर्धारित गरेका अधिकारका विषयमा दुवै तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने जनाए। उनले अनियमित विद्युतको समस्या समाधानका लागि कोहलपुर-सुर्खेतको १३२ केभी प्रसारणलाई व्यवस्थित बनाउन सहजीकरण गर्ने बताए।

‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ भन्ने सरकारको कार्यक्रमलाई नवीनतम ढंगले अगाडि बढाउने, विगतका योजनाबाट प्राप्त प्रतिफलमाथि समीक्षा, विकास नागरिकका लागि हो भन्ने बुझाइ निर्माण, विकासको माग मन्त्रालयमा नभई स्थानीय निकायमा जाने संस्कृतिको विकास र प्रदेश रणनीतिक महत्वका ठूला आयोजनाका लागि संघीय सरकार तथा केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय र सहकार्य गर्ने उनको भनाइ छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ