arrow

सरकारको न्युनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड

भ्रष्टाचार काण्डहरूलाई दह्रो मुटु लिएर छानबिन गर्नुपर्छ भन्ने आँट सरकारसँग हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
deuba-oli-81-3-28w.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले वर्तमान सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् । कांग्रेस सांसदहरूले सरकारले न्युनतम साझा कार्यक्रम बनाएर सोही अनुरूप सरकार सञ्चालन गर्नुपर्ने बताएका छन् । उनीहरूले दुई वा दुई भन्दा बढी दलहरू सम्मिलित सरकारमा न्युनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्युनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्युनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । त्यसै गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि उनले बताए । 

उनले भने – ‘कुनै पनि सरकार दुई वा दुईभन्दा बढी दलको बनिसकेपछि सरकारको एउटा निश्चित कार्यदिशा हुनुपर्छ । सरकार कसरी अगाडी बढ्ने ? सरकारले के–के कुरालाई प्राथमिकताका साथ अगाडी बढाउने ? र साझा न्युनतम कार्यक्रम बनाउनु आवश्यक हुन्छ । सरकारले न्युनतम साझा कार्यक्रम बनाएर अगाडी बढ्छ भन्ने कुरामा म विश्वस्त छु । नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा सात बुँदे सहमति पनि भएको छ । सहमतिमा आगामी दिनमा कसरी जाने भन्ने कुरा उल्लेख पनि गरिसकेका छौँ । यति बेला नेपाली जनताले सरकारको स्थायित्व खोजेका छन् । र समृद्धिको सपना देखिरहेका छन् । अहिलेको आर्थिक तरलतालाई ठिक ठाउँमा ल्याउन नेपाली कांग्रेस लाग्नु जरुरी छ । अथवा सरकार जानु जरुरी छ । देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र विकास निर्माणलाई तीव्रता दिने लगायतका काममा यो सरकार विशेष गरी लाग्नुपर्छ ।’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्युनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बीचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए । उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए । सरकारले सुशासनमा केन्द्रित भएर न्युनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे । 

उनले भने – ‘सुशासनमा सम्पूर्ण रूपले केन्द्रित हुनु आवश्यकता छ । आर्थिक विकृतिको सीमा नाघेको स्थिति छ । भ्रष्टाचारले हरेक ठाउँमा जरा गाडेको छ । त्यसलाई निमिट्यान्न गर्नका लागि सरकार लाग्नुपर्छ । चर्चित भ्रष्टाचार काण्डहरूलाई दह्रो मुटु लिएर छानबिन गर्नुपर्छ भन्ने आँट सरकारसँग हुनुपर्छ । आर्थिक क्षेत्रमा सुधार देखाउनुपर्ने छ । यिनै अहिलेको न्युनतम साझा कार्यक्रमको मुख्य आधार हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ