arrow

ओलीलाई प्रचण्डको झटारो : ‘अहिलेको आन्दोलन संघीयता मन नपर्नेहरुको षड्यन्त्र’

वैद्य, बाबुराम, विप्लवहरुसँग मिल्नुको विकल्प छैन

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
PM-surkhet-new.jpeg

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । सुर्खेतको बिरेन्द्रनगरमा शुक्रबार बिहान पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले यसो भनेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धि संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए ।

संविधान संशोधन प्रस्तावबारे चलेको जुहारीबारे टिप्पणी गर्दै प्रधानमन्त्री दाहालले भने,  ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षडयन्त्र छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धीहरु माओवादीको पहलमा भयो, ति सबैलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’

एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै दाहालले आगाडि थपे, ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई आग्रह गरे ।

दाहालले भने, ‘हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भावना रहेको छ । निरास हुनुपर्ने कुनै कारण छैन, नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न सबैलाई आग्रह गर्दछु ।

हामी बलियो भएनौं भने सबै उपलब्धी उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’

प्रधानन्त्री दाहालले माओवादी पार्टीलाई एकतावद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास गरे ।  दाहालले थपे, ‘माओवादीहरु मिल्नुको विकल्पै छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ