ओलीप्रति देउवा आक्रोशित : ‘मुलुक विभाजन गर्न खोज्ने पार्टी एमाले’
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
7k
Shares
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक विभाजन गर्न खोज्ने पार्टी एमाले नै भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल निजामति कर्मचारी युनियन (संघ)को विधान अधिवशेनमा सभापति देउवाले मधेसका जनतालाई एमालेले नै भड्काएको र एमाले नै विभाजन खोज्ने पार्टी भएको आरोप लगाए ।
देउवाले भने, ‘बाहिर संविधान कार्यान्वयका कुरा गरे पनि एमाले कुनै पनि कुरामा उत्साही भएको पाइँदैन । संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छ । यो विषय एक दम गहिरो हो ।’
एमाले र एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोशित देखिएका देउवाले भने, ‘एमाले निर्वाचनमा जान पनि डराइरहेको छ । एमालेले नेपाली जनतालाई भेडा ठानिरहेको छ । अर्कोतिर केपी ओलीको भर छैन ।’ विभाजन खोज्ने एमाले नै हो ।
आक्रोश पोख्दै देउवाले भने, ‘सुशील कोइरालासँग सहमति गर्ने ओलीनै फेरि आफै विरोध गर्ने ? मुलुकभित्रकै प्रदेश व्यवस्थापनलाई जटिल बनाएर हिमाल, पहाड र तराईलाई लडाउने प्रयन्न ओलीबाटै भइहेको छ ।’
एमाले र ओलीले नेपाली जनतालाई भ्रममा पारेर मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको समेत देउवाले बताएका छन् ।
अहिले पछिल्लो समय मिडिया र सोसल मिडियाबाट प्रपोगाण्डा गरी एमालेले कांग्रेसलाई घाटा हुने काम गरिरहेको उल्लेख गर्दै सभापति देउवाले ढिलो चाँडो दीर्घकालमा जनताले बुझ्ने बताए । यस्तै, देउवाले अमेरिकामा प्रपोगाण्डा गर्दा गर्दै ट्रम्पले जितेको प्रसंग झिक्दै जति प्रापोगान्डा गरेपनि ती गतिविधिले कांग्रेसनै बलियो हुने तर्क गरे ।
यस्तै, कांग्रेस महामन्त्री डा. शशांक काइरालाले काँग्रेसले छुट्टै मिडिया पोलिसी ल्याउने बताए । उनले भने, ‘पार्टीको जिम्मेवार नेतृत्वलाई यसको जिम्मा दिनु पर्छ । मैल पार्टी सभापतिलाई समेत भनेको छ ।’ कोइरालाले अवको निर्वाचनमा जिल्ला जाँदा कर्मचारी युनियनका साथीहरुको भूमिका अत्यन्तै लोभ लाग्दो हुनुपर्छ –भने ।