काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले थ्रीस्टारले एएफसी कपको दोस्रो चरण खेल्न नपाएकोबारे छानविन गर्न समिति गठन गरेको छ ।
थ्रीस्टार एएफसी कपको दोस्रो चरणमा सहभागी हुनबाट बञ्चित भएको विषयमा छानविन गर्न कार्यसमितिमा शुक्रबारै मनोनयन भएका उपाध्यक्ष वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जिव मिश्रसहितको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले १५ दिनभित्र छानविन प्रतिवेदन बुझाउने बताइएको छ । एन्फाकै असावधानीले थ्रीस्टार एएफसी कपको दोस्रो चरण खेल्नबाट बञ्चित भएको हो । एन्फाले समयमै खेलाडीहरुको नाम दर्ता नगरिदिएर महत्वपूर्ण अवसर गुमेको छ ।
थ्री–स्टार गत अगस्तमा मंगोलियामा भएको प्लेअफमा चार अंकसहित समूह ‘बी’ को विजेता बन्दै एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । थ्री स्टारको भन्दा १ अंक कम भएको मंगोलियन क्लब इर्चिम दोस्रो चरणमा छानिए पनि थ्री स्टारको नाम एएफसीले वुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा परेन ।
एएफसीले डिसेम्बर १३ मा खेल तालिका तय गर्ने भएको छ । एफएसीको वेबसाइटमा प्रकाशित सूचीअनुसार नेपालको ठाउँमा मंगोलिया परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने छ । अन्तिम चरण भने फेब्रुअरी २० देखि हुने छ । जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन ।
सोलिडारिटी कप जित्नेलाई जनही ३ लाख
एन्फाले सोलिडारिटी कपको उपाधि विजेता राष्ट्रिय टोलीका सदस्यहरुलाई जनही ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ । कार्यसमिति बैठकले नगद पुरस्कारसहित खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो । केही समय अघि मलेसियामा भएको प्रतियोगितामा नेपालले मकाउलाई हराउँदै पहिलो महादेशीय उपाधि जितेको थियो । यस्तै, सरकारले समेत खेलाडीलाई पुरस्कार दिने घोषणा गरिसकको छ ।
यस्तै, एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न वरिष्ठ उपाध्यक्ष मणि कुँवरको नेतृत्वमा समिति बनाएको छ ।