arrow

दुर्गमका विद्यार्थीलाई ५ लाख बराबरको छात्रवृत्ति

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
Salyan-hamrakura.jpg.jpeg
सल्यान । सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै  चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री प्राप्त गरेका हुन । 
 
सेभ द चिल्ड्रेनको सहयोगमा छात्रवृत्ति प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४ जना, भल्चौर गाविसका १२ विद्यालयका २६ जना, दार्माकोट गाविसका ११ विद्यालयका ३० जना र जिमाली गाविसका नौ विद्यालयका २० जना बालबालिका रहेका छन् । उनीहरुलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोसाक, एक जोडा जुत्ता, झोला, एक वर्षलाई पुग्ने कापी, कलम, डिक्सनरी, सामान्य ज्ञानलगायतका सामग्री प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । उनीहरुलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति, दलित विकास समाज सल्यानका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधिलगायतले चारवटै गाविसमा पुगेर छात्रवृत्ति प्रदान गरेका हुन । 
 
पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमा बुबा गुमाएका तथा शैक्षिक सामग्री र पोसाकको अभावमा विद्यालय जान नपाएका बालबालिकालाई छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेनकी जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताए । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी नियमित विद्यालय जाने र पढाइमा ध्याने दिने बानीको विकास हुने विश्वास गरेका छौँ, सुवेदीले भने । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ