arrow

दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
bangladesh-map-dhaka.png
तस्बिर – फाइल ।

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।  
 
देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो । आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए । 

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए ।  कारागारमा आगो लगाएर भाग्ने  प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले बताएका छन् ।

‘कैदीहरुको अराजक गतिविधिले हामी  गोली चलाउन बाध्य भएका हौँ’, उनले भने ।  

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्लबार कैदीहरु भाग्ने प्रयासका कारण  भएको झडपमा  अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताउनुभयो ।  

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे ।  

हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।  

 पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ