काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग बहस गर्न चुनौती दिएका छन् । शनिबार राजधानीमा आयोजित क कार्यक्रममा बोल्दै मन्सुरले त्यस्तो तर्क गर्नेहरु दरबारीया पिछलग्गु रहेको आरोप समेत लगाए । कसैले भन्दैमा संविधान संशोधन प्रस्ताव फिर्ता नहुने उनको भनाई थियो ।
नेता मन्सुरले संविधान कार्यान्वयनको लागि पनि संशोधन अनिवार्य भएको भन्दै सरकारले संसदमा दर्ता गराएको प्रस्ताव दुई तिहाईले पारित हुने दाबी पनि गरे । उनले भने, ‘कसैले विरोध गर्दैमा केही हुनेवाला छैन, यो प्रस्ताव पारित हुन्छ ।’
मधेशी, आदिवासी, जनजातिहरुलाई अधिकार दिनको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उनले भने, ‘हिजो संविधान जारी गर्दा पनि हामीले त्यतिवेला असहमति र असन्तुष्टिका कुराहरु राखेका छौं, तर संविधान जारी गरौं पछि संशोधन गर्दै जाने हो भनेर ठूला दलका शीर्ष नेताहरुले भनेपछि संविधान जारी भएको हो, अहिले आएर ९० प्रतिशतको सहमतिमा संविधान जारी भएको हो भन्न मिल्छ ? हामी विना कसरी ९० प्रतिशत पुग्थ्यो ?’
मन्सुरले संशोधन प्रस्तावलाई लिएर अनर्गल प्रचार नगर्न समेत एमालेका नेताहरुलाई कडा चूनौति दिएका छन् । उनले भने,‘अहिले अर्नगल प्रचार गरेर शासकहरुले भोलि आफ्ना नातिलाई मुख्यमन्त्री बनाउने सुनिश्चिताको लागि यस्तो चर्को कुरा गरिरहेका छन्, यो त मधेशी जनताहरुलाई शासनमा पुग्न नदिने षड्यन्त्र हो ।’
उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संशोधन प्रस्ताव जनताको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
उनले यो प्रस्ताव विदेशीको चाहना अनुरुप आएको भन्दै यसलाई तत्काल फिर्ता लिएर सबै पक्षसँग बृहत्तर छलफल गरेर औचित्य पुष्टि गर्नेगरि अर्को प्रस्ताव ल्याए आफूहरु सहयोग गर्न तयार रहेको जिकिर गरे । उनले एमाले कुनै हालतमा यो संशोधन प्रस्तावको पक्षमा नउभिने ठोकुवा गरे ।
उनले सिमांकनसम्बन्धी सबैलाई पाच्य हुनेगरि अघि बढ्नुपर्ने भन्दै मिलेर बसेकाहरुलाई टुटाउने र फुटाउने गरि आएको संशोधन प्रस्ताव कुनै हालतमा मान्य नहुने चेतावनी दिए । उनले अधिकारसँग प्रदेशको सिमांकन कुनै हालतमा जोड्न नुहने बताउँदै भने, ‘सिमांकन विशुद्ध प्राविधिक विषय हो ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र जैसवालले संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने ठोकुवा गरेका छन् । उनले भने,‘यो प्रस्ताव जनताको हितमा भएकोले दुई तिहाईले पारित हुन्छ, यसमा कुनै दुई मत छैन ।’
उनले मधेशी जनताहरुले गरेको आन्दोलन नदेख्ने तर अहिलेको प्रस्तावको विरुद्धमा भएको आन्दोलनलाई मात्रै आन्दोलन देख्ने प्रवृत्ति नै गलत भएको तर्क गर्दै अहिले आएको संशोधन प्रस्ताव पहिला भन्दा प्रगतिशील भएको विश्वास व्यक्त गरे ।
उनले देशलाई निकास दिनको लागि पनि यो प्रस्ताव पारित गराउन सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । उनले प्रस्ताव पारित नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको आधारमा राजिनामा दिने समेत जानकारी दिए । उनले भने,‘प्रचण्डलाई पदको कुनै लोभ छैन, मोह छैन, उहाँलाई कुर्सीको मोह छैन भन्ने कुरा दुनियाँलाई थाहा छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टीले संशोधन प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारे । उनले पार्टीलेपनि यसअघि नै निर्णय गरिसकेको बताउँदै संशोधनको नाममा केटाकेटीको खेलौनाको खेल कसैले खेल्न नहुने बताए ।
उनले संशोधन प्रस्ताव आईसकेपछि मुलुक ठप्प बनेको समेत आरोप लगाए । उनले भने,‘यो प्रस्तावले देशमा झनै गत्यारोध निम्त्यो ।’ उनले संशोधन प्रस्तावको विरुद्धमा ५ नम्बर प्रदेशमा मानवसागर नै उर्लिएको उल्लेख गर्दै यो प्रस्ताव जनताको ईच्छाअनुसार नआएको बताए ।
उनले प्रस्ताव राष्ट्रिय हित अनुकुल नभएकोले पार्टीले यथास्थितिमा समर्थन नगर्ने बताईसकेकोले आफूहरु सोही बमोजिम नै अघि बढ्ने जानकारी दिए ।