arrow

हसिनाका छोराले भने ‘भीडको शासन’, बङ्गलादेश अराजकतातर्फ जाने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
sajib-sheikh-hasina-son.jpg

काठमाडौँ । बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बङ्गलादेशमा अन्तिरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाएका छन् । 

उनले निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमबार मित्र राष्ट्र भारततर्फ गएकी थिइन् । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

उनी भारत आएपछि सेनाले उनको राजिनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ । 

अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्व सरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिएका छन् । 

उनले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वातामा भनेका छन्, “अहिले बङ्गलादेशमा भीडको शासन छ । प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।”

उनले भने, “यदि भोलि भीडले ‘हामी अन्तरिम सरकारमा रहेका व्यक्तिलाई परिवर्तन गर्न चाहन्छौं’ भन्यो भने उनीहरूलाई परिवर्तन गर्नुपर्छ ।”

युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आएका छन्  तर वाजेदले चुनावमा ढिलाई भए अराजकता बढ्ने चेतावनी दिएका छन् । 

उनले भने, “ जनताको वैधानिकता र साँचो अधिकार भएको वैध सरकारमा फर्कन निर्वाचन गराउनु उनीहरूको हितमा छ । अन्यथा, यो केवल अराजकतामा परिणत हुनेछ ।”

हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गरेकी थिइन् तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए । 

हसिना भागेपछि लाखौँको सङ्ख्यामा रहेका उनको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ र पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

तर वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रको राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गरे । 

“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उनले भने, “अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरूले वर्षौंको दमनबाट ट्टेको सङ्गठनको पुनर्निर्माण गरिरहेका छन् । बीएनपीले सोमबारदेखि ढाकामा शान्तिपूर्ण जन ¥याली आयोजना गरिरहेको छ ।

वाजेदले बिएनपी र आवामी लिग मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ