arrow

बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
jajarkot-bhukampa-dahasaskar.jpg

तनहुँ । तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ । 

अन्यको हकमा भने दाहसंस्कार शुल्क चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनकानुसार देवघाटमा मासिक करिब १७ वटा बेवारिसे शवको दाहसंस्कार हुने गरेको छ । तनहुँ, चितवन र नवलपुरबाट विपन्न व्यक्तिको दाहसंस्कार निःशुल्क गरिदिन सिफारिस आउने गरेको बरालले बताए । 

उनले भने, “भरतपुर अस्पतालबाट बेवारिसे शव दाहसंस्कारका लागि यहाँ ल्याउने गरिएको छ । त्यस्ता शव दाहसंस्कारको सम्पूर्ण व्यवस्थापन समितिले गरिरहेको छ । यस्तै तीनवटै जिल्लाबाट विपन्नका लागि निःशुल्क दाहसंस्कार गर्न सिफारिससमेत आउने गरेका छन् ।” देवघाटमा दैनिक सरदर सात वटा शवको दाहसंस्कार हुँदै आएको छ । समितिले दाहसंस्कारका लागि वनसँग दाउरा खरिद गर्ने गरेको छ । 

यसैगरी समितिले देवघाट आश्रमका ज्येष्ठ नागरिकको मासिक रूपमा स्वास्थ्य परीक्षण गराउन थालेको छ । समितिद्वारा सञ्चालित आश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या नआओस् भनेर मासिकरुपमा परीक्षणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक बरालले बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको समितिका लागि चालु आर्थिक वर्षमा ८७ लाख बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ ५० लाख र चालुतर्फ ३७ लाख बजेट छ । समितिले पार्किङ, डुङ्गा सञ्चालन र व्यापारिक सटरबाट आन्तरिक आम्दानी गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ