arrow

चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
tiger-suklafata-rss.jpg
फाइल तस्बिर

तनहुँ । पछिल्लो समय तनहुँमा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका-२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए । पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदैछ ।

विसं २०७९ भदौमा व्यास नगरपालिका-११ राति डिल्लीमाया गुरुङ र शङ्कर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शङ्करको ज्यान गयो । सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका-३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए ।

सोही वर्षको कात्तिक १५ गते व्यास-१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर-१ का भिमलाल गरौजा पिँढीमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए । साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।  

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका-२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका-१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी-३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका-२ का ऋतिक रोका, असोजमा भानु-१ का कुशल बानियाँ, जेठमा भानु-२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु-२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु-४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु-२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो । 

विसं २०७९ असारमा बन्दीपुर-१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चिुतवाको आक्रमणबाट घाइते भएका थिए । विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताए ।

उनले भने, “करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।” 

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास-८ का गोरे विक भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते भएका थिए । भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

“कानुनी रुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको बासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो”, उनले भने ।

वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ ।

यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए ।

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ । “विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, बासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्”, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भने । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उनले जानकारी दिए ।

वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए । यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए  ।

“वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ”, उनले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ