एन्फाले ईमेल चलाउन जानेन : थ्रीस्टारमाथि यसरी भयो घात !
थ्रीस्टार अदालत जाने तयारीमा, विज्ञहरुसंग परामर्श गर्दै
प्रकाशित २०७३ मंसिर २६ आइतबार
1.5k
Shares
काठमाडौं । नेपाली फुटबलको शीर्ष क्लब थ्री स्टारले एएफसी कपको दोस्रो चरण खेल्न नपाएकोबारे अखिल नेपाल फुटबल संघ एन्फाबाटै घात भएको खुलेको छ ।
थ्रीस्टारले एएफसी कपको दोस्रो चरण खेल्न नपाएकोबारे छानविन गर्न गठित समितिले अनुसन्धान गरिरहेको छ । यद्यपि, समितिको प्रतिवेदन आउनु अघिनै एन्फाको अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्नेहरुले आफुहरुबाटै गल्ती भएको स्वीकारेका छन् ।
एन्फा महासचिव धिरेन प्रधानले हाम्राकुरासंग भने, ‘छानविन समितिले आफ्नो काम गरिरहेको छ । एएफसीबाट पत्र आएकै हो । मेल खोल्नेले ईमेल खोलेर यकिन गरिदिएनन् । उनीहरुले मेल खोल्न गल्ति भो भनेर स्वीकारी सकेका छन् ।’ ईमेल खोल्दै न खोलेको कि मेल खोलेर पनि लुकाएको ? जवाफमा उनले भने, ‘ईमेल खोले तर यही वर्ष अर्थात् २०७३कै लागि पत्र आएको हो भन्ने ठ्म्याउन नकसकेको भनेर उनीहरुले भनेका छन् ।’ इमेल बुझिएन । यसबारे थप छानविन समितिले कुरा ल्याउला ।
छानविन समितिमा एन्फाका मात्रै प्रतिनिधि भए भनेर थ्रीस्टारले आपत्ति जनाइरा छ ? महासचिव प्रधानले भने, ‘छानविन समिति त हामीले बनाउने हो । उनीहरुको राखेर कहाँ हुन्छ र ? ।’
थ्रीस्टार अदालत जाने
एन्फाले थ्रीस्टारलाई मात्र नभई समग्र नेपाली फुटबलमाथिनै घात गरेको भन्दै थ्रीस्टार क्लबका पदाधिकारीले एन्फाप्रति रोष प्रकट गरेका छन् ।
थ्रीस्टारका महासचिव सन्जीव शिल्पकारले हाम्राकुरासंग भने, ‘हामी पूर्ण तयारीका साथ कानुनी उपचारमा जाने मनस्थितिमा छौं । निर्णय गरिसकेका छैनौं । अहिले विज्ञहरुसंग परामर्श भइरहेको छ । अबको मंगलबार अथवा बुधबार हामी पत्रकार सम्मेलन नै गरी के गर्ने भन्ने सार्वजनिक गर्छौं ।’ थ्रीस्टार एउटा प्रतिनिधि पात्र मात्रै हो । यसले समग्र नेपाली फुटबललाई नै नोक्सान गरेको छ ।
आफुहरु क्लबलाई डुबाएकोबारे सहेर नबस्ने भन्दै महासचिव शिल्पकारले थपे, ‘क्लबलाई ठूलो धक्का पुगेको छ । सम्झिने हो भने विश्व फुटबलमै यस्तो पहिलो पटक भएको होला ।’ एन्फाले आफ्नै भित्रका व्यक्तिहरु राखेर छानविन समिति बनाएको भन्दै शिल्पकारले यसले सत्य तथ्य छानविन गर्नेमा विश्वास गर्न नसक्ने बताए ।
थ्रीस्टार एएफसी कपको दोस्रो चरणमा सहभागी हुनबाट बञ्चित भएको विषयमा छानविन गर्न कार्यसमितिमा गएको शुक्रबार मात्र मनोनयन भएका उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य रमेश रायमाझी र सञ्जिव मिश्रसहितको तीन सदस्यीय समिति गठन गरेको हो ।
एन्फाकै असावधानीले थ्रीस्टार एएफसी कपको दोस्रो चरण खेल्नबाट बञ्चित भएको हो ।
थ्री–स्टार गत अगस्तमा मंगोलियामा भएको प्लेअफमा चार अंकसहित समूह ‘बी’ को विजेता बन्दै एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । थ्री स्टारको भन्दा १ अंक कम भएको मंगोलियन क्लब इर्चिम दोस्रो चरणमा छानिए पनि थ्री स्टारको नाम एएफसीले गएको वुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा परेन ।
एएफसीले डिसेम्बर १३ मा खेल तालिका तय गर्ने भएको छ । एफएसीको वेबसाइटमा प्रकाशित सूचीअनुसार नेपालको ठाउँमा मंगोलिया परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने छ । अन्तिम चरण भने फेब्रुअरी २० देखि हुने छ । जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन ।