arrow

पाकिस्तानमा वर्षाका कारण १९ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
pakistan-devastation-floods.jpg
फाइल तस्बिर

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले जनाएको छ । 

डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार जुलाई १ देखि अगस्त १७ सम्म वर्षाजन्य घटनामा १९५ जनाको मृत्यु हुनुका साथै ३ सय ६२ जना घाइते भएका छन् । 

यसैगरी, विपद्का कारण दुई हजार २ सय ९३ घर क्षतिग्रस्त भएका छन् । पिडिएमएका अधिकारी युनस मेङ्गलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका १६ जिल्ला प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताएका छन् । 

बलुचिस्तानले जुलाई-१ देखि हालसम्म दुई गम्भीर मनसुन घटनाको सामना गरेको डन न्यूजले जनाएको छ ।

बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ ।

सबैभन्दा बढी कलातमा त्यसपछि उस्ता मुहम्मद र सबिबीमा वर्षा भएको रेकर्ड भएको छ ।

सोहबतपुरकी बलुच उपायुक्त फरिदा तरीनले जुडाइर नदीमा जल सतह बढेको बताउँदै  यस क्षेत्रमा आएको बाढीले धान खेतमा क्षति पुगेको जानकारी दिए । 

बलुचिस्तानको राष्ट्रिय राजमार्ग प्राधिकरणका महाप्रबन्धक आगा इनायतुल्लाले उत्तरी बलुचिस्तानका सबै राष्ट्रिय राजमार्ग खुला रहेको र अधिकारी र ठेकेदारले बाढीको क्षति मर्मत र सडक पहुँच कायम राख्न प्रयास गरिरहेको बताए । रासस/एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ