arrow
ADVERTISEMENT

गाईजात्रा विशेष

‘बा’को नारा शिरोपर – भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न

logo
उपल्लाघरे काका, 
प्रकाशित २०८१ भदौ ४ मंगलबार
kp-shama-oli-gaijatra-2081.jpg

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटा संवाद निकै चर्चित छ – भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न । यो उनको सत्तामा बसुन्जेलको सबैभन्दा ठूलो नारा हो । 

उनी कार्यकालको हिसाबले तीन पटक प्रधानमन्त्री भए । तेस्रो कार्यकाल चलिरहेको छ । उनी आफू प्रधानमन्त्री भएपछि गर्ने भाषण नै भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने नै हो । 

त्यसबाहेक उनले भ्रष्टाचारीलाई आफूले नचिन्ने बताउँछन् । भ्रष्टाचारीको मुखै देख्न नपरोस् भन्छन् । अनि भ्रष्टाचारीसँग आफ्ना सात पुस्तासम्म नाता नभएको जनाउँछन् । उनले भन्नुपर्ने बाँकी केही राख्दैनन् । 

तर अचम्म उनी प्रधानमन्त्री भएका बेलामा नै सबैभन्दा धेरै भ्रष्टाचार हुन्छ । उनकै पालामा भएका वाइडबडी काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरीबन्धु काण्ड, प्रिन्टिङ प्रेस काण्ड लगायतका थुप्रै काण्ड देखापर्छन् । 

संसदीय लेखा समितिले भ्रष्टाचारबारे कारबाहीका लागि दिएको प्रतिवेदन अमान्य बताउँछन् र आफैँ समिति बनाउँछन् । तर समितिलाई पूर्ण हुन नदिइ ढालिदिन्छन् र भ्रष्टाचारको फाइल तुहाइदिन्छन् । 

अर्को अचम्म त के भने उनी प्रधानमन्त्री भएका बेलाको सरकार नेपालको इतिहासकै सबैभन्दा भ्रष्ट सरकार बन्यो । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले पनि ओली सरकार सबैभन्दा भ्रष्ट भनेर प्रमाणित गर्यो । 

माओवादी केन्द्रसँग एमालेले एकता गरेर बनेको नेकपा सरकार सबैभन्दा भ्रष्ट भएको प्रतिवेदन सार्वजनिक भएको हो । 

तर ओली त्यसलाई स्वीकार्दैनन् । स्वीकार पनि किन गर्नु र ? आफूले भ्रष्टाचार गर्दिन भनेकै हो । 

भ्रष्टाचारीको मुख हेर्दिन भनेकै हो । चाहे आफू नजिकका नेता हुन् वा आफ्नै स्वकीय सचिव किन नहुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै नातेदार परे पनि उनलाई के मतलब भयो र ?

भ्रष्टाचारीलाई नचिनेपछि टन्टै साफ । भन्नेले भन्दै गर्छन् । फेरि आरोप लगाउनेमाथि नै लगाउनु पर्ने क्या । 

त्यत्रो सचिवालय चलाउनु छ । बालकोट सिँगै थाम्नुपर्नेछ । बुझ्नेले बुझिहाल्छन् कि उनले भ्रष्टाचार नगरी चल्दै चल्दैन भन्ने कुरा । 

थाहा भएको कुरालाई पटक–पटक कोट्याउनुको कुनै अर्थ नै छैन । हुँदाहुँदै गिरीबन्धु टि–स्टेटमा उनलाई किन फसाउनु परेको । उनले हाकाहाकी भनेकै कुरा हो । 

सर्वोच्च अदालतले भनेकै छ । हुँदाहुँदै उनले १५ वर्षलाई पुग्ने गरी सर्वोच्चमा आफ्नो प्रभाव जमाउने गरी एमालेका कार्यकर्ता पालेर राखिरहेको एमाले वृत्तमै गाइँगुइँ छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नि उनको प्रभाव कायमै छ भनिएको छ । फेरि सुन्नुभा’छ एमालेको कुनै मन्त्रीमाथि अहिलेसम्म अनुसन्धान भएको ? 

स्पष्टै छर्लङ्ग देखिइरहेका कुराहरुमा भन्नुको कुनै मजा छैन । सचिवालयमा त्यत्रो खर्च हुन्छ । त्यो कहाँबाट आउँछ भनेर थाहा भएपछि त्यसै आरोप लगाउनुको पनि मजा छैन । 

फेरि ओली के खान्छन् ? कतिको पानी खान्छन् भनेर कुप्रचार गर्नुको पनि मजा छैन । 

फेरि केपी ओली ‘बा’ हुन् । आम कार्यकर्ताका बा, नेताका बा, आफ्नै उमेरतिरका नेताका पनि बा, सबैका बा । 

सबै भनेपछि इमानदारदेखि भ्रष्टाचारी सबैका बा । बा भनेर सम्बोधन गरेपछि कसैले आरोप लगाउन पनि नपाइ है । 

अनि जसले बा भन्छ आफ्ना सन्तानको हिफाजत गर्न ओली जान्दछन् भन्ने पनि बुझ्नु पर्छ । 

आफूसँग टक्कर लिन खोजे भीम रावल र घनश्याम बनाइदिन्छन् । चुपचाप बसे गोकुल बाँस्कोटा बनाइदिन्छन् । 

गोकुल त छोरै भए उनको कुरा किन ? उनी त बा भन्ने सम्भवतः पहिलो छोरा होलान् । चुप बसे त रामबहादुर थापा बादललाईसमेत स्थान दिन्छन् ओली । 

किनकि बा भनेको बा हो । पहिले संविधान नै मिचेर संसद विघटन गर्दा त विरोध गरिएन । अब अहिले आएर किन विरोध गर्नु र । 

फेरि बाको रक्षा गर्नु सबैको कर्तव्य हो । बाले भनेपछि पक्कै हो – भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।

बा’को नारा शिरोपर – भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ