arrow

युवा सकारात्मक भएर अघि बढ्नुपर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
gandaki-cm-surendra-panday.jpg

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवा सकारात्मक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

जेसीआई व्यास नगरको आयोजनामा दमौलीमा आयोजित व्यास नगर साइनिङ स्टारको फाइनल कार्यक्रममा उनले देश बनाउने जिम्मेवारी युवाको भएकाले देशमा केही भएन भन्नुभन्दा पनि सकारात्मक सोँचसहित मेहनत गर्नुपर्ने बताए ।

देशमा केही भएन र केही हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मुख्यमन्त्री पाण्डेले भने, “देशमा केही हुँदैन भनेर विदेश मात्र ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातर्फ जान्छ । सकारात्मक सोचका साथ देश बनाउन युवा अगाडि आउनुपर्छ ।”

युवा देश विकासको संवाहक भएको चर्चा गर्दै उनले युवाले चाहेमा पूर्वाधार निर्माण, विकाससँगै समृद्ध मुलुक सम्भव रहेको उल्लेख गरे । उनले भने, “देशमा प्रशस्त सम्भावना र अवसर छन् । त्यसको सदुपयोग गर्नुपर्छ ।”

युवालाई जागरण गर्न र सक्रिय बनाउन जेसीआई स्थापित भएको भन्दै मुख्यमन्त्रीले यसले सोहीअनुसार काम गरिरहेको बताए ।

“युवामा नैराश्यता नकारात्मक सोँचका कारण बढेर गएको छ”, उनले भने, “पछिल्लो समय नेपालमा केही पनि गर्न सकिँदैन भन्ने युवाको भावना छ । त्यो सोचलाई सकारात्मकतर्फ लैजानुपर्छ । युवामा उत्साह र प्रेरणा दिने सन्दर्भमा जेसीआईको महत्त्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले युवामा व्यक्तित्व र नेतृत्व विकासमा जेसीआईले सहयोग गरिरहेको बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालबालिकामा रहेका प्रतिभा प्रस्फुटनका लागि साइनिङ स्टारले सघाउँदै आएको बताए ।

जेसीआईका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले समाजमा सकारात्मक सन्देश दिँदै युवालाई उत्प्रेरणा दिने काममा जेसीआई सफल भएको बताए ।

साइनिङ स्टारको फाइनलमा २० जना बालबालिका प्रतिस्पर्धी छन् । एक महिनासम्म विविध प्रशिक्षणपश्चात् फाइनलमा सहभागी बालबालिकामध्येबाट विजयी घोषणा गरिने जेसीआई व्यास नगरका अध्यक्ष नवीन पुरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ