स्याङ्जा । स्याङ्जाको मध्यभागबाट बग्ने आँधीखोलामा एक थान पेस्तोल फेला परेको छ । पेलाकोट गाविस वडा नं. ७ स्थित आँधीखोलाको बालुवाको वगरमा पेस्तोल फेला परेको हो । वालिङ नगरपालिका ४ का लेखबहादुर खत्रीले बालुवा चाल्नेक्रममा पेस्तोल फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालको नेतृत्वमा गएको टोलीले पेस्तोल नियन्त्रणमा लिएर अहिले अनुसन्धान थालेको छ । फेला पारेको पेस्तोल युएसए लेखिएको बेट्रा जाम नाम गरेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयको हो वा अन्य सरकारी कार्यालयको हो भन्ने विषयमा अनुसन्धान पछि खुल्ने निरिक्षक बरालले जानकारी दिए । हतियार निकै गहुङ्गो भएकोले आँधीखोलाले वगाएर भन्दा पनि सो ठाँउमा गाडिएको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ ।
शसस्त्र दन्द्धका बेला हतियार गाडिएको हो वा अन्य कुनै कारणबाट खसेको हो भन्ने तथ्य पत्ता लगाउन बाँकी रहेको प्रहरीले जनाएको छ । पेस्तोल फेला परेको ठाँउमा अन्य हतियार पनि हुन सक्ने अनुमान सहित खोजतलास जारी राखेको निरिक्षक बरालको भनाई छ । फेला परेको हतियार ८/१० बर्ष पहिला गाडेको अनुमान प्रहरीको छ ।