arrow

माओवादीको गण्डकी बैठकमा अधिकांश नेता खनिए जनार्दनमाथि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
maobadi-gandaki.jpg

पोखरा । नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद तल्लो तहमै पुगिसकेको छ । यसको पुष्टि आइतबारदेखि पोखरामा जारी गण्डकी प्रदेश स्तरीय परामर्श बैठकले गरेको छ । 

बैठकमा बोल्ने केही नेताबाहेक अधिकांशले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बीचको विवादमा बहस केन्द्रित गरे । प्रचण्ड पक्षीय नेताले शर्मामाथि चर्को आक्रोश पोखे भने शर्मा पक्षीय नेता बचाउमा उत्रिए । 

बैठकको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले समेत विवादकै कुराबाट आफ्नो मन्तव्य सुरु गरे । उनले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव फरक मत भएको तर दस्तावेज नभएको बताए । प्रचण्डले शर्माको प्रस्तावकै कारण पार्टी विभाजन नहुने भन्न पनि भ्याए । 

पार्टीमा बहस र छलफल हुनु स्वाभाविक भएको बताउँदै उनले पार्टी यही कारण नफुट्ने र झन् एकढिक्का बन्ने स्पष्ट पारे । बरु पहिले फुटेर गएकाहरु पनि एकतामा आउने अध्यक्ष प्रचण्डको विश्वास छ । 

प्रचण्डले शर्माको प्रस्तावसमेत समेटेर प्रतिवेदनलाई पूर्णता दिने भन्दै फरक मत र तल्ला कमिटीबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने स्पष्ट पारे । 

उनले २०८४ सालको चुनावमा पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टी बनाउनै पर्छ । अबको चुनावमा सिंगल सिंगल लडेर जित्ने पार्टी बन्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबै रुपान्तरण, एकताबद्ध हुनुपर्छ, त्यसो भयो भने सम्भव छ ।’

अध्यक्ष प्रचण्डले करिब ४५ मिनेट बोलेपछि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले बोल्ने पालो आयो । अधिकांश केन्द्रीय सदस्यले नेतृत्वबिरुद्ध धावा बोलेको भन्दै शर्माप्रति आक्रोश पोखेका थिए । नेतृत्वमा कमिकमजोरी रहे पनि अहिल्यै प्रचण्डको विकल्प नभएको उनीहरुले जिकिर गरे । 

एक केन्द्रीय सदस्यले भने, ‘नेतृत्व भनेको प्रचण्डमात्रै होइन, पार्टी बिग्रिनुमा तपाईंको पनि उत्तिकै हात छ । प्रचण्डलाई मात्रै दोष दिएर तपाईं उम्किन मिल्दैन ।’

अर्का केन्द्रीय सदस्यले पार्टीका केन्द्रीय पदाधिकारीको वर्ग उत्थान भएको बताउँदै त्यसको छानविन हुनुपर्नेमा समेत जोड दिएका थिए । 

उनले भने, ‘तपाईंहरु कतिपटक सत्तामा पुग्नुभयो ? तपाईंहरुको कति वर्ग उत्थान भयो ? त्यसको लेखाजोखा हुनुपर्दैन ? अनि प्रचण्डलाई दोष दिएर तपाईंहरु उम्किन मिल्छ ?’

प्रचण्ड निकट केन्द्रीय सदस्यले उपमहासचिव जनार्दन शर्माले पार्टी भित्रको आन्तरिक किचलो बाहिर सार्वजनिक गरेर गम्भीर गल्ती गरेको समेत आरोपसमेत भन्न भ्याए । उनले भने, ‘तपाईंले आफ्नो मत पार्टी भित्र राख्नुभयो, त्यो ठीक छ तर बाहिर किन लैजानुभयो ? यसले तपाईंकै कद घटायो ।’

अर्का केन्द्रीय सदस्यले पार्टीमा शुद्धीकरण जरुरी रहेको बताए । शर्मा निकट केन्द्रीय सदस्यले नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेतृत्वको उत्तराधिकारी तयार गरेर राख्नुपर्छ । त्यसका लागि आवाज उठाउँदा पार्टी फुटाउन लाग्यो भनेर भन्नु उचित होइन ।’

बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, सचिव दीननाथ शर्मा, हितराज पाण्डे, प्रशान्त, स्थायी कमिटी सदस्य अम्रिता थापा मगर उपस्थित छन् । 

बैठकमा गण्डकीका ६५ जना केन्द्रीय सदस्य तथा प्रदेशका नौ जना पदाधिकारी गरेर ७४ जना भए पनि आइतबार ६० जना मात्रै सहभागी भए । 

आइतबार ३९ जना केन्द्रीय सदस्यले बोलेका छन् । बाँकीले सोमबार बोलेपछि अध्यक्ष प्रचण्ड तथा पदाधिकारीले जवाफ दिएर बैठक सकिने गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ