arrow

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
monkey-radio.jpg

तनहुँ । तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुबाट घरपालुवा चौपाया क्षति भएवापत डिभिजन वन कार्यालयले कृषकलाई रु छ लाख ६१ हजार नौ सय ८५ राहत उपलब्ध गराएको हो । यस्तै चितुवाको र बाँदरको आक्रमणबाट घाइते भएका पीडित परिवारलाई उपचार खर्चवापत रकमसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

चितुवा र बाँदरको आक्रमणबाट घरपालुवा चौपायाबाट मृत्यु भएपछि कृषकले दिएको निवेदनका आधारमा कार्यालयले राहत रकम उपलब्ध गराएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले जानकारी दिए । उनकानुसार उक्त अवधिमा व्यास नगरपालिका, म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी र भिमाद नगरपालिकाका कृषकलाई राहत उपलब्ध गराइएको हो । 

त्यस अवधिमा ६० बाख्रा, १० पाडापाडी, २२ कुखुरा आक्रमणमा परेका थिएका भन्दै ४६ कृषकले निवेदन दिएकामा क्षतिको आधारमा राहत रकम उपलब्ध गराइएको श्रेष्ठले जानकारी दिए । उनकानुसार व्यास नगरपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट ४१ पशुचौपायाको मरेकामा १२ जनालाई रु एक लाख ३६ हजार, म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँबाट छ पशुचौपायाको मरेकामा छ कृषकलाई रु एक लाख ४१ हजार, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा आक्रमणबाट मरेका १५ पशुचौपायावापत आठ कृषकलाई रु ५५ हजार आठ सय राहत उपलब्ध गराइएको छ । 

यस्तै, आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट ११ पशुचौपाया मरेकामा पाँच कृषकलाई रु एक लाख ४८ हजार, भानु नगरपालिकाका विभिन्न ठाउँमा बाँदर र चितुवाको आक्रमणबाट मरेका १६ पशुचौपायावाफत १० कृषकलाई रु एक लाख २९ हजार नौ सय ८५, शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट मरेका छ पशुचौपायावापत चार कृषकलाई रु ४३ हजार र भीमाद नगरपालिकामा चितुवाको आक्रमणबाट मरेका दुई पशुचौपायाकोरु आठ हजार राहत उपलब्ध गराइएको छ । 

कार्यालयले बाँदरको आक्रमणबाट घाइते भानु नगरपालिका–३ स्थित अशोक सुनारलाई रु छ हजार छ सय ६० र भानु नगरपालिका–३ का रनबहादुर तामाङलाई रु १६ हजार आठ सय २५, चितुवाको आक्रमणबाट घाइते आँबुखैरेनी गाउँपालिका–१ का प्रणिता गौलीलाई रु ८५ हजार दुई सय र म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई रु एक लाख सात हजार उपचार खर्च उपलब्ध गराएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ