माअाेवादी नेता एमालेविरुद्ध खनिए : प्रचण्डले नेता कार्यकर्तालाई यस्तो भाषामा दिए प्रशिक्षण
ज्ञानेन्द्र त्यसै दिल्ली र बेइजिङ दौडेका छैनन् !
प्रकाशित २०७३ मंसिर २७ सोमबार
1.3k
Shares
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानले संस्थागत गरेका परिवर्तनका मुद्दाहरु जोगाउन जनतामाझ जान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । दाहालले संविधानमा लिपिवद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको आरोप लगाउँदै कार्यकर्तालाई सचेत रहन भनेका हुन् ।
सोमबार माओवादी केन्द्र प्रदेश नम्बर ३ का नेता, कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा दाहालले भने, ‘अहिले विभिन्न गिरोहको सहयोगमा माओवादी विरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ । संघीयता, गणतन्त्र, समावेशीता जस्ता मुद्दाकाविरुद्ध केही दल र नेताहरु लागेका छन् ।’
दाहालले अगाडी भने, ‘हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन् । जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए । आज माओवादी आन्दोलन केही कमजोर भएको देखेर यी सबै उपलब्धिलाई उल्टाउन खोजिँदैछ । त्यसका लागि जनतालाई भ्रम पार्न खोजिँदैछ । त्यसैले परिवर्तनलाई जोगाउन अब हामी सबै जनतामा जाऔं ।’
पोलिट्ब्यूरो बैठकले संगठनको गतिरोध चिरेकोमा जोड दिँदै प्रशिक्षणमा दाहालले भने, ‘भर्खरै सम्पन्न पोलिट्ब्यूरोको बैठकले संगठनात्मक गतिरोध चिरेको छ । अब अधिवेशनमार्फत् व्यवस्थित संगठनको जग बसाल्नेतिर हाम्रो ध्यान केन्द्रित गरौं । अभियान बनाएर जनतामा जाऔं । सबैको मूल्याङ्कन अभियान र जनसेवाले गर्छ । यसले जनतामा नयाँ आशा र माओवादी आन्दोलनमा एकताको वातावरण पनि बन्नेछ ।’
माओवादीहरुबीच फेरि पनि एकताको आधारमा बन्दै गएको भन्दै दाहालले थपे, ‘माओवादीहरु बिभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ ।
त्यसको गृहकार्य भइरहेको छ । तपाईहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’ प्रशिक्षण कार्यक्रममा बैशाखको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचन गर्ने तयारीमा सरकार रहेको दाहालले बताए ।
ज्ञानेन्द्र त्यसै दिल्ली र बेइजिङ दौडेका छैनन् !
प्रधानमन्त्री दाहालले भनेका छन्, ‘राजा महाराजाहरु सिंगापुर, दिल्ली बेइजिङ त्यसै दौडेका छैनन् ।
दाहालले धेरै कुरा उल्लेख गर्न नमिल्ने भन्दै अगाडि थपे, ‘म माओवादी केन्द्रको अध्यक्षको हैसियतमा मात्र यो सबै भनिरहेको छैन, प्रधानमन्त्रीको हैसियतले जे जति सूचना प्राप्त छन्, त्यस आधारमा भन्दैछु ।’ सिंगापुर भ्रमणमा गएका ज्ञानेन्द्र दिल्ली र बेइजिङ पुगेर उच्चस्तरीय भेटघाट गरेको केही साता अघि मात्रै सार्वजनिक भएको थियो ।
दाहालले नेता कार्यकर्तालाई सुझबुझपूर्ण ढंगले भित्रि षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने भन्दै अहिलेको दौडधुप परिवर्तन उल्टाउने प्रयास र राष्ट्रवादको खोलमा वितण्डा मच्चाउने खेल हो–भनेका छन् ।
यस्तै, नेता नारायणकाजी श्रेष्ठले सङ्गठन सुदृढीकरण नै आजको प्रमुख आवश्यकता भएकाले राजधानी केन्द्रित हुने प्रवृत्ति त्याग्न सबैमा आग्रह गर्दै जनतामा जाने हो भने माओवादीप्रति पुनःउभार आउने भएकाले नीति तथा कार्यक्रम बनाई प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।
रामबहादुर थापाले माओवादीलाई कमजोर पार्ने नियतका साथ नेकपा (एमाले)लगायतका दलले अराजक आन्दोलन गरेको भन्दै जनतामा रहेको भ्रम चिर्नु जरुरी रहेको छ–भने ।
नेताहरु वर्षामान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, हितमान शाक्य, पम्फा भुसाल, लोकेन्द्र विष्ट मगरलगायतले माओवादीलाई पुनः एक नम्बरको पार्टी बनाउन सिङ्गो पार्टी पङ्क्ति परिचालित हुनुपर्ने धारणा राखे ।