arrow

अझै पार्टी नेतृत्वबाट बिदा नहुने प्रचण्डको भनाइ

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ भदौ १६ आइतबार
prachanda-81-5-16.jpg

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पंक्ति र जनभावना अनुसार आफू अझै केही समय अध्यक्षमै रहिरहने बताएका छन् । 

प्रेस सेन्टर बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ता र जनस्तरको भावना पनि त्यही रहेकाले तत्काल पार्टी नेतृत्वबाट बिदा नहुने स्पष्ट पारे । कम्युनिष्ट पार्टीहरुमा नेतृत्व निर्माण र हस्तान्तरण भन्ने कुरा अलि फरक हुने भन्दै उनले थुप्रै पक्षहरुले यसमा भूमिका खेल्ने बताए । 

'हस्तान्तरण भनेको कसैलाई टिको लगाएर दिइने कुरा पनि होइन, लिइने कुरा पनि होइन', उनले भने '३५-३६ वर्षदेखि नेतृत्व गर्दै आएकाले अब नेतृत्वमा म नै भइराख्नुपर्छ भन्ने त छैन तर साथीहरूको भावना अहिले तपाई‌ले यताउता गर्न पाउनुहुन्न भन्ने छ, उहाँहरुको ममाथि प्रेसर छ ।' हस्तान्तरण र पुस्तान्तरणका बारेमा पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालमा नयाँ भनेको माओवादी मात्रै भएको दाबीसमेत गरे । 'नेपालको आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने भनेको माओवादी नै हो', प्रचण्डले भने,'नयाँ हामीले नै गर्छौं ।' उनले नयाँ भनेर आएका पार्टीहरुले पनि माओवादीसँग सहकार्य गर्नुको विकल्प नरहेको प्रचण्डको जिकिर छ । 

उनले आफू अब पार्टी बनाउन केन्द्रित हुने बताए । प्रधानमन्त्री भएका कारण पार्टीले थालेको अभियान अन्तर्गत विगतमा जनतामा जान नसकेको बताउँदै उनले अब 'घर-घरमा माओवादी, जनजनमा माओवादी' अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ